हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारलाई इजरायलले आजीवन भत्ता दिने

 हमासले बन्दी बनाएका विपिन जोशीको परिवारले पनि भत्ता पाउने

चैत्र १, २०८०

जगदीश्वर पाण्डे

Israel will give lifetime stipend to the families of 10 Nepalis killed in Hamas attacks

काठमाडौँ — इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।

‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउदा नेपालीहरुको मृत्यु भएको हो,’ उनले भने,‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’

विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेहहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । उनीहरुको परिवारले आजीवन भत्ता पाउने छन् ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully