प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री बालेन शाहलाई पक्रन चाहन्थे : सीके राउत

फाल्गुन २९, २०८०

कान्तिपुर संवाददाता

The Prime Minister and the then Home Minister wanted to arrest Balen Shah: CK Raut

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्रन प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन सत्ता गठबन्धनको बैठक राखेको खुलासा गरेका छन् ।

कान्तिपुर टीभीको 'फायरसाइड' कार्यक्रममा सोमबार अध्यक्ष राउतले मेयर शाहले 'सिंहदरबारमा आगो लगाउँछु' भन्ने स्टाटस लेखेपछि यस्तो बैठक बोलाएर सत्ता गठबन्धनको राय मागेको बताए ।

उक्त बैठकमा प्रधान सेनापति,सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सिडियो उपस्थित थिए । त्यहाँ प्रधानमन्त्री र गृहमन्त्रीले पक्रन चाहेको तर आफू र कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो गर्न नमिल्ने राय दिएको राउतको दाबी छ ।

उनले सरकारका काम,गठबन्धनको कार्यशैली तथा लोकतान्त्रिक र बामपन्थीबीचको फरकबारे उदाहरण दिँदै  उक्त बैठकको प्रसंगबारे उल्लेख गरेका छन्  ।

'एकचोटी बडो गोप्य तरिकाले बैठक बस्यो । त्यहाँ प्रधान सेनापति, तीनवटै जिल्लाकै सीडियोहरू पनि थिए ।एजेण्डा के हो थाहा थिएन' राउतले भनेका छन्,'तर त्यहाँ थाहा भयो  काठमाडौंको मेयरले एउटा स्टाटस लेख्नुभएको रहेछ । पक्राउ गरौं कि भन्ने रहेछ । त्यतिबेला मैले रियलाइज गरें कि लोकतान्त्रिक शक्ति कस्तो हुन्छ र बामपन्थी शक्ति कस्तो हुन्छ भनेर । त्यो बेला प्रधानमन्त्रीले मलाई सोध्नुभयो । नयाँले नयाँलाई समर्थन गर्छ कि भनेर !  मैले भने कुनै हालतमा पक्राउ गर्न मिल्दैन । त्यहाँ सवा लाख कमेन्ट आएको छ त्यसमा ९५ प्रतिशतले सरकारलाई नै गाली गरेको छ । उहाँको समर्थन गरेको छ ।' 

आफूले यस्तो भनेपछि 'हामीहरू चोर नै हौं त' भन्ने खालको भावना व्यक्त गरेको उनले बताए ।  प्रधामन्त्री र गृहमन्त्रीले जसरी पनि ठोक्ने भन्ने खालको मनस्थितिमा रहेको  पाएको पनि उनले उल्लेख गरे । ' तर त्यतिबेला कांग्रेसको सभापति शेरबहादुर देउवाले यो लोकतन्त्र हो बोल्दै गर्छन् । बोल्दैमा आगो लगाइदियो त ?  बोल्न पाउनुपर्छ भनेर अडान राख्नुभयो । त्यतिबेला थाहा भयो, लोकतान्त्रिक र बामपन्थी शक्तिबीचको फरक के हो ।  प्रस्टपेक्टिभ नै फरक पर्छ ।'  

कान्तिपुर

Link copied successfully