कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सालिनको हत्या कि आत्महत्या ?

प्रहरीले गम्भीर अनुसन्धान जारी रहेको बताए पनि मृतकका परिवारका सदस्यहरू विश्वस्त छैनन् ।
रमेशकुमार पौडेल

चितवन — गत शनिबार दस बजेतिरको कुरा हो– रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बसेर ८ कक्षा पढ्दै आएकी १४ वर्षीय सालिन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला परेको खबर जिल्ला प्रहरीमा पुग्यो ।

सालिनको हत्या कि आत्महत्या ?

यो घटनामा सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको हो भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर मात्रै बनेको छैन, यसबारे अनेकन शंका र आशंका पनि उब्जिन सुरु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी श्रीराम भण्डारीले भने प्रहरीले गहन अनुसन्धान थालिसकेको बताए । उनले भने, ‘होस्टेल कोठाको पंखामा झुन्डिएको अवस्थामा शव भेटिएको हो । हामीले सुसाइट नोट पनि बरामद गरेका छौं । मोबाइल पनि नियन्त्रणमा लिएका छौं । हामीले नांगो आँखाले हेर्दा देखिने सबै कुरा मुचुल्कामा उठाएका छौं ।’

प्रहरीका अनुसार सालिन मृत फेला परेको कोठामा पाँच जना छात्रा सँगै बस्थे । घटनापछि प्रहरीले उनीहरूसँग पनि सोधपुछ गरेको छ । ‘त्यस दिन खाना खाने बेला हुँदा सालिन जुत्ता धुँदै गरेको र पछि खाना खान आउँछु भनेकी रहिछन् । हामीले सीसीटीभी फुटेज हेरेका छौं । खाना खाएर यताबाट साथीहरू जाँदा बस्ने कोठाको ढोका खोल्न नसकेको देखिन्छ । पछि शिक्षक पनि आएर जोड गरेर ढोका खोलेको देखिन्छ । प्रहरीलाई विद्यालयबाटै खबर भएको हो,’ डीएसपी भण्डारीले भने । उनले सालिनका साथमा भेटिएको सुसाइट नोटमा ‘बाबाआमालाई सरी’ भन्ने उल्लेख गरिएको पनि बताए ।

प्रहरीले गम्भीर अनुसन्धान जारी रहेको बताए पनि मृतकका परिवारका सदस्यहरू विश्वस्त छैनन् । उनीहरूले यो घटना आत्महत्या नभएर हत्या भएको दाबी मात्रै गरेका छैनन्, घटनाको विषयमा सत्यतथ्य पत्ता लगाएर न्याय दिन माग गर्दै न्याय नपाउँदासम्म सद्गत नगर्ने अडान पनि राखेका छन् । मृतकका बुबा ललित पोखरेलले भने, ‘हामीलाई आएको प्रारम्भिक विवरणलाई आधार मान्दा उनको मृत्यु स्वाभाविक छैन । बलात्कारपछि हत्या भएको हो भन्ने हामीलाई लाग्छ ।’

गोरखा घर भए पनि उनी रत्ननगर–१५ माधवपुर मामा घरमा रहँदै आएकी थिइन् । बाबुआमाको सम्बन्धविच्छेदपछि उनको संरक्षकत्वमा आमा रहेकी थिइन् । परिवारका अनुसार सालिन साढे तीन वर्षकी हुँदा आमाबाबुको सम्बन्धविच्छेद भएको थियो । घटनापछि वैदेशिक रोजगारीमा दुबई रहेकी आमा नेपाल फर्केकी छन् । काठमाडौंमा रहेका बाबु ललितले कान्तिपुरसँगको टेलिफोन कुराकानीमा सम्बन्धविच्छेद भए पनि छोरीको पढाइ खर्च दुवै मिलेर बेहोरिरहेको बताए ।

तीनतले भवन रहेको स्कुलको तेस्रो तलामा छात्रावासमा बसेर सालिन दुई वर्षयता पढ्दै आएकी थिइन् । विद्यालय प्रशासनका अनुसार छात्रावासमा पाँच जना छात्रा र २६ जना छात्रहरू अलग–अलग बस्दै आएका थिए । प्रशासनले छात्र र छात्राहरूको छात्रावासको बीचमा च्यानलगेट रहेको बताएको छ । घटनाको तीन दिनपछि अर्थात् गत मंगलबार प्रहरीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रअ कमल शर्मा पौडेल र होस्टेल इन्चार्ज किरणबहादुर अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ ।

मृतक परिवारले प्रहरीले अनुसन्धान गर्न ढिलाइ गरेको भन्दै आशंका गरिरहेका छन् । मृतकका बाबु ललितले सुनाए, ‘उहाँहरूलाई नियन्त्रणमा लिन पनि प्रहरीले निकै आनाकानी गर्‍यो । हामीले यो घटनामा न्याय पाइँदैन भन्ने लागेर पनि भरतपुरमा पोस्टमार्टम गरेनौं । काठमाडौं ल्याएर पोस्टमार्टम गर्‍यौं । तर न्याय नपाउँदासम्म सद्गत गर्दैनौं ।’

प्रहरीले सुरुमा किटानी जाहेरीभन्दा पनि ज्यान मुद्दामा मात्रै उजुरी ल्याउन भनेपछि प्रहरी र मृतक परिवारबीच संशय सुरु भएको देखिन्छ । डीएसपी भण्डारीले भने, ‘घटनाको खुला अनुसन्धान गर्ने उद्देश्यले सुरुमै किटानी जाहेरी नदिए पनि हुन्छ, अनुसन्धानको उजुरी दिएपछि छानबिन गर्दा जे देखिन्छ, त्यसैका आधारमा किटानी जारी दिएर मुद्दा चलाउने गरिएको पनि छ । हामीले त्यही भनेका हौं । उजुरी नै लिन नचाहेको हैन ।’ बाबु ललितले मंगलबार सालिनको शव बुझेर काठमाडौंमा बुधबार पोस्टमार्टम गरेको बताए । प्रहरीले भने पोस्टमार्टम भएको जानकारी आए पनि रिपोर्ट प्राप्त भइनसकेको बतायो ।

घटनापछि विद्यालय बन्द रहेको थियो । शुक्रबारदेखि कक्षा ८ देखि १२ सम्मको पढाइ सुरु भए पनि आठ कक्षाभन्दा मुनिको पढाइ सुचारु भएको छैन । विद्यालयको शिक्षक–अभिभावक संघका सदस्य मोहन पाण्डेले भने, ‘यसबारेमा अनेक कुराहरू आएका छन् । सबै कुरा निवारण हुने गरेर सत्यतथ्य आउनुपर्दछ । चाँडोभन्दा चाँडो यो विषय न्यायपूर्ण तरिकाले टुंगिनुपर्दछ ।’

प्रकाशित : फाल्गुन १८, २०८० २३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?