अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु 

फाल्गुन १८, २०८०

महेश केसी

Basant of Rukum, who reached America through illegal route, died during treatment

रुकुम पूर्व — अवैध बाटो हुँदै अमेरिका पुगेका सिस्ने गाउँपालिका वडा नम्बर–३ पोखराका ३२ वर्षीय वसन्त शर्माको उपचारका क्रममा अमेरिकामै मृत्यु भएको छ । दुई वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत थिए ।

न्युयोर्कको जर्सीस्थित ‘मोनमाउथ मेडिकल सेन्टर’मा उपचाररत वसन्तको बिहीबार मृत्यु भएको उनकी भाउजू अस्मिता शर्माले जानकारी दिइन् ।

२०७८ साल चैतमा घरबाट हिँडेका वसन्त ८ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । पारिवारिक स्रोतका अनुसार करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर अमेरिका पुगेका वसन्तलाई गत मंसिर ११ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई क्षयरोगको संक्रमणका भएको अस्पतालले जानकारी गराएको थियो । त्यसकोे संक्रमण वसन्तको फोक्सोबाट बढेर दिमागको बाँया भागमा समेत पुगिसकेको पनि अस्पतालले बताएको थियो ।  सुरुदेखि नै भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । 

मानव तस्करका माध्यमबाट अमेरिका पुगेका वसन्तसंग त्यहाँको कुनै आधिकारिक कागजात नहुँदा निकै मुस्किल भएको साथी लक्ष्मण शर्माले बताए । वसन्तको घरमा आमा, श्रीमती र दुई छोरी तथा दुईजना भाइ छन् । 

मानव तस्करका माध्यमबाट रुकुम र आसपासका भेगबाट धेरै मानिस अवैध तरिकाले अमेरिकालगायतका विभिन्न देशमा जाने गरेका छन् । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully