बढुवा भएर नियुक्ति भएका ३० जना सहसचिव अहिले संघीय मन्त्रालयमा हाजिर गरेर बसेका छन् । उनीहरु कसैले पनि एयरपोर्ट जाने इच्छा देखाएका छैनन् । बढुवा भएका मध्ये १५ जना सहसचिव राजस्व समूहका मात्र छन् ।
काठमाडौँ — कुनै समय भन्सार सरुवा हुन कर्मचारीको हानाथाप हुने गर्थ्यो । भन्सार प्रमुख बन्ने व्यक्ति होस् वा अन्य कर्मचारी सरुवाको ‘सिजन’ लागेपछि दौडधूप चल्थ्यो । उनीहरु शक्ति केन्द्र धाएर भएपनि भन्सारमा सरुवा गराउँथे । तर अहिले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख बन्ने सहसचिव खोज्नुपर्ने भएको छ ।
अर्थ मन्त्रालय अहिले त्यही खोजीमा छ । मन्त्रालयले एयरपोर्ट भन्सार प्रमुख(प्रमुख प्रशासक) बनाउने सहसचिव पाएको छैन । कार्यरत सहसचिव सरुवा भएको र बढुवा भएर ‘पोष्टिङ’ कुरेर बसेका नयाँ सहसचिवहरु पनि भन्सार जान मानेका छैनन् ।
निजामती कितावखानाबाट सरुवा भएका हालका एयरपोर्टका भन्सार प्रशासक सहसचिव टोकराज पाण्डे अर्थ मन्त्रालय सरुवा भएको दुई साता बित्न लागेको छ । एयरपोर्टमा जाने सहसचिव नपाएपछि अहिले पाण्डेलाई नै कामकाज गर्न भनिएको छ । पछिल्ला वर्षहरुमा विमानस्थ जान तयार हुने सहसचिव पाउनै कठिन हुन थालेको हो ।
भन्सारबाट सुनलगायतका बस्तुको तस्करीको घटनाले प्रमुख मात्र होइन सबै तहका कर्मचारी डराएका छन् । मन्त्रीपरिषद्ले पाण्डेलाई मन्त्रालय ल्याएर भन्सार विभागका उपमहानिर्देशक सेवन्त पोखरेललाई सरुवा गरिए । तर सरुवा गरेपछि पोखरेल बिदामा बसेका छन् । उनी विदेश भएकाबेला सरुवा गरिएको थियो । विभागको उपमहानिर्देशक भइसकेको वरिष्ठ सहसचिवलाई भन्सार प्रशासक बनाएको भन्दै उनले असन्तुष्ट जाहेर गरेका हुन् । उनी भन्सार बुझेका सहसचिव मध्येमा पर्छन् ।
सहसचिवलाई जुन सुकैबेला सरुवा गर्न सक्ने र सामान्यतया जुन स्थानमा पनि खटाउन सकिने भएकाले राजस्व समूह बाहेकका पनि भन्सार प्रशासक बन्न सक्छन् । तर सहसचिवहरुको अनिच्छाका कारण भन्सार प्रमुखमा पठाउन फकाइफुल्याइ गर्नुपर्ने अवस्था आएको अर्थ मन्त्रालय स्रोतको भनाई छ ।
प्रशासन सेवाबाट खुला प्रतिस्पर्धामा सहसचिव भएका अरुण पोखरेल गत असोजमामा वीरगन्ज भन्सारबाट एयरपोर्ट सरुवा भएका थिए । उनी एक वर्षे कार्यकाल पनि पुरा नगरी अर्थ मन्त्रालय सरुवा भए । उनी आफ्नो कार्यकालको पछिल्लो तीन महिना बिदामा बसेर गत भदौमा अर्थ मन्त्रालय सरुवा भएका हुन् । उनी बिदामा बसेकाबेला भेपमा लुकाएर ल्याएकोको सुन बरामद भएको थियो ।
अरुणको बदलामा भदौमा एयरपोर्ट गएका पाण्डेले पनि पाँच महिनामै बस्न नचाहेका कारण सरुवा गरिएको हो । पाण्डेको बदलामा सरुवा गरिएका सेवन्तले एयरपोर्ट जान अनिच्छा गरेका छन् । अहिले पाण्डेलाई नै काम गर्न भनिएको छ । तर सरुवा भएपछि उनले भन्सारको काममा चासो नदिएको कर्मचारी बताउँछन् ।
भन्सारमा सहसचिवलाई प्रमुख प्रशासकको दरबन्दी सिर्जना गरेर प्रमुख बनाएर पठाउने गरिएको छ । सहसचिव मात्र होइन ७ जनाको उपसचिव दरबन्दी रहेको भन्सारमा अहिले तीन जना छन् । कामका आधरमा भन्ने हो भने प्रमुख प्रशासकको दरबन्दी भएको सहसचिवको भन्दा पनि बढी भूमिका उपसचिवको हुने गर्छ ।
एयरपोर्टमा कर्मचारीको दरबन्दी १४६ जना रहेकोमा १३६ जना छन् । एक अधिकृतसहित ५ जनाविरुद्ध विभिन्न घटनामा संलग्न भएको आरोपमा मुद्दा चलिरहेको छ । भएका कर्मचारी पनि समायोजनका बेला फाजिल दरबन्दीमा परेका तल्लो तहका कर्मचारी छन् । राजस्व संकलनमा उनीहरुको भूमिका खासै हुँदैन ।
अन्य भन्सारमा चाहिने भन्दा बढी कर्मचारी काजमा जान खोज्नेको दबाब पर्ने गरेको छ । तर एयरपोर्टमा भने जानै नचाहने भएकाले समस्या भएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । विदेशबाट आउनेहरु पनि प्लेनबाट ओर्लेपछि कुन-कुन निकायले दुःख दिएको हो त्यसको रिस पनि भन्सार कर्मचारीमाथि थोपार्ने गरेको पूर्व प्रमुख प्रशासक बताउँछन् ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल कर्मचारीले एयरपोर्ट जान आनाकानी गरेको स्विकार्छन् । ‘नपाएको नै भन्ने होइन खटाएपछि जुनैसुकै तहको कर्मचारी पनि जानुपर्छ,’ पौडेलले भने, ‘अन्य भन्सारमा जस्तो स्वेच्छाले खुसी भएर जाने अवस्था भने छैन ।’ भन्सारको प्रमुख प्रशासक पदमा निजामती सेवाका सहसचिव जोसुकैलाई पठाउन सकिन्छ । राजस्व समूह कै चाहिन्छ भन्ने छैन । तर कुनैपनि सहसचिव एयरपोर्ट जान मानेका छैनन् ।
मन्त्रिपरिषद्को गत माघ ३ गतेको निर्णयअनुसार बढुवा भएर नियुक्ति लिएका ३० जना सहसचिव अहिले संघीय मन्त्रालयमा हाजिर गरेर बसेका छन् । उनीहरु कसैले पनि एयरपोर्ट जाने इच्छा देखाएका छैनन् । बढुवा भएका मध्ये १५ जना सहसचिवहरु राजस्व समूहका मात्र छन् । सहसचिवहरुले एयरपोर्ट जानुपरेमा आफूहरु मन्त्रालयको दरबन्दीमा नआउने बताउने गरेका छन् ।
एयरपोर्ट भन्सारका एक पूर्व प्रशासकले कुनै घटना हुँदा जायज कुरामा पनि माथिल्लो निकायले वास्ता नगरेको अनुभव सुनाउँछन् । एयरपोर्टमा काम गर्ने प्रमुखको अभिभावकनै नभएको दुखेसो उनले गरे । ‘कानूनसम्मत काम गर्दा पनि गाली र बेइज्जती सबै भन्सार प्रशासकको टाउकोमा हाल्ने भएपछि कसरी टिकेर काम गर्न सकिन्छ,’ उनले प्रश्न गरे ।
महानिर्देशक पौडेल भने कर्मचारीमा जोखिम उठाउन नचाहने प्रवृत्ति बढेको बताउँछन् । सहसचिवको तहमा पुगेपछि पनि निर्णय गर्न डराउनेर र सहज रुपमा जागिर खान खोज्ने प्रवृत्ति बढेको उनले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवामा अहिले सहसचिवको दरबन्दी ६८५ रहेको छ ।
