रेमिट्यान्सले व्यापार घाटालाई भरथेग गरिदिएको छ : सांसद राणा

माघ २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — रेमिट्यान्सले नेपालको व्यापार घाटालाई भरथेग गरिदिएको नेपाली कांग्रेसका सांसद् एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको दोस्रो सत्र 'विप्रेषण : सञ्चिति बढाउन, उत्पादनमा लगाउन'मा बोल्दै उनले पर्यटनले पनि पछिल्लो समय केही सहयोग गरेपनि अहिलेको वैदेशिक मुद्राको स्रोत रेमिट्यान्स नै भएको बताए ।

'रेमिट्यान्सकै कुरा गरिरहँदा रोजगारका लागि हाम्रा दाजुभाइ दिदीबहिनी बाहिर जानु राम्रो होइन । त्यसमा पनि वैदेशिक रोजगारीलाई पैसामा मात्रै तुलना गर्नु ठीक होइन,' उनले भने, 'तर वैदेशिक रोजगारले नयाँ ज्ञान र सीप पनि भित्र्याएको छ । इजरालयमा सिकेको टनेल खेती अहिले नेपालमा देख्न सकिन्छ ।' उनले सीप लिएर नेपाल फर्किएर काम गर्न चाहेका नेपालीहरूले ऋण नपाएको तर झोलामा खेत बोकेर हिँडेकाहरुले भने अनुदान पाइरहेको अवस्था रहनु दुखद भएको पनि बताए ।

उनले यही दरमा युवाहरू विदेश पलायन भइरहने हो भने म:म: पसलमा काम गर्ने मान्छे पाउन पनि गाह्रो हुने अवस्था आउने तर्क गरे । 'वैदेशिक रोजगारले रेमिट्यान्ससँगै थुप्रै प्रकारका सामाजिक समस्याहरू पनि निम्त्याएको छ । त्यसलाई सम्बोधन गर्न ढिला गर्नु हुन्न,' उनले भने, 'विदेशिएका युवालाई जबर्जस्ती गरेर फर्काउन सकिन्न तर उनीहरु आफैं फर्किउन भनेर वातावरण बनाउन सक्नुपर्छ ।'

सांसद् राणाले यो परिस्थितिलाई सम्बोधन गर्न एउटा सांसद वा पार्टीले मात्रै नसक्ने पनि बताए । 'नीति नियम कानुन बनाएर मात्रै पनि यो समाधान हुने अवस्था छैन । यसमा सरकार राजनीतिकर्मी सबैको तर्फबाट कमजोरी भएको छ । अब हामीले यहीँ काम गर्ने वातावरण बनाउन पहल गर्नुपर्छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully