दक्ष र सक्षम भएर विदेश गए अपमानित हुनु पर्दैन : श्रममन्त्री भण्डारी

माघ २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू दक्ष र सक्षम भए कतै पनि अपमानित हुनु नपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको इम्प्लोएमेन्ट, माइग्रेसन एन्ड रेमिट सम्मेलको चौथो सत्र ‘श्रममन्त्रीको श्रम कति ?’ मा मन्त्री भण्डारीले भाषा, सीप र ज्ञानको अभावमा युवाहरू अमानित हुनुपर्ने आशय व्यक्त गरेका हुन् ।

‘हाम्रा यस्ता युवाहरू विदेश गइरहेका छन्, जो विदेशको भव्य एयरपोर्टमा अलमलमा पर्छन्,’ उनले भने, ‘कहिल्यै फाइभ स्टार होटलमा प्रवेश नगरेको मान्छेलाई डिनरका लागि बोलाउँदा जसरी अलमलिन्छ, उनीहरूलाई त्यस्तै हुन्छ ।’

मन्त्री भण्डारीले विदेशी भूमिमा काम गर्न सक्ने क्षमता अभिवृद्धि गराएर मात्रै युवाहरूलाई विदेश पठाउनु पर्ने बताए । ‘त्यसका लागि हाम्रो नीतिमै सीप, भाषा ज्ञान सिकाएर पठाउनुपर्ने व्यवस्था छ तर त्यो व्यवहारमा लागू हुन सकेका छैन,’ उनले भने, ‘यसैलाई मध्यनजर गरेर हामीले हालै व्यावसायिक तालिम केन्द्रलाई प्रतिष्ठानमा रूपान्तरण गरेका छौं । अबा सीप विकासको भोकेसनल तालिम यस प्रतिष्ठानले व्यवस्था गर्छ ।’

कान्तिपुर

Link copied successfully