कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

म्यानपावरले दु:ख दिँदा कतारमा जेल बस्न बाध्य भएँ : सीता लावती

काठमाडौँ — पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित 'कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको तेस्रो सत्र 'फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध' कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।

म्यानपावरले दु:ख दिँदा कतारमा जेल बस्न बाध्य भएँ : सीता लावती

'पहिला क्युभिसी गर्न पैसा लाग्छ भन्दै म्यानपावरबाट ५० हजार माग्नुभयो, ५० हजार छैन, ३० हजार खातामा हालिदिन्छु भन्यौं,' उनले भनिन, 'खातामा हाल्न मिल्दैन, हातैमा पैसा दिनु भन्नुभयो, विश्वासले पैसा दियौं, त्यसको प्रमाण भएन, जसले गर्दा धेरै दुःख भयो ।'

सुरुमा म्यानपावर खोज्दा धेरै दुःख पाएको उनले गुनासो गरिन् । 'कोटेश्वर नेसनल ओभरसिपमार्फत कतार गएँ, फ्रि भिसा भनिए पनि फ्रि भिसा भएन, ३ लाख २५ हजार तिरेर कतार पुग्यौं,' उनले भनिन, 'वेटरको अन्तर्वार्ता लिएर पठाए पनि काम पाइएन । तीन महिना त्यत्तिकै बितायौं ।' त्यो ३० हजार रुपैयाँ मार्न नसकेर पैसा फिर्ता नहुने भएपछि कतार गएको उनले बताइन् ।

संस्थाबाट ऋण लिएर कतार गएको उनले सुनाइन् । 'एक महिना नपुग्दै ब्याज तिर्नु परेको छ, त्यति मात्र होइन, किस्ता पनि घटाउनु परेको छ,' उनले भनिन, 'म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा आएर मुद्दा पनि गयौं । ' दुई वर्षको सम्झौता गरेर गए पनि त्यो भन्दा अघि आए रकम फिर्ता दिने भन्ने रहेको उनले बताइन् । 'पैसा फिर्ता माग्यौं, कि त्यही पैसाले अन्यत्र पठाइदिनु भन्दा पैसा फिर्ता नदिने भन्दै प्रहरीमा उजुरी दिनु भए छ,' उनले भनिन, 'त्यो भिसामा नगए पैसा फिर्ता पाइँदैन भन्नुभयो, त्यही भएर त्यति पैसा तिरेर गएका थियौं, नेपालीले नै खोलेको सेवा बेस्ट कम्पनीमा पुग्यौं, त्यहाँ काम पनि दिनु भएन । त्यहाँ तीन महिनासम्म त्यत्तिकै बितायौं ।'

ठूलो सपना देखेर ऋणको भारी बोकी विदेश गए पनि सोचेकोभन्दा ठीक उल्टो भएको उनले दुःखेसो पोखिन् । 'विमानस्थलमा सेवा बेस्ट कम्पनीका सरहरुले लिएर जानुभयो, त्यहाँ लगेर एउटा भिल्लामा राख्नु भयो,' उनले भनिन, 'हामीलाई न खान दिनु भयो, न व्यवस्थित रूपमा राख्नुभयो, केही सहयोग गर्नु भएन ।' साढे दुई महिनासम्म यस्तो समस्या झेलेको उनले बताइन् । 'नेपालबाट पैसा मगाएर खाना खायौं, यसरी कहिलेसम्म चल्छ भनेर नेपालै फर्किनुपर्छ भन्नेमा पुग्यौं,' उनले भनिन्, 'त्यसपछि नेपाली दूतावासमा गयौं, त्यहाँ नेपाल गएकै राम्रो भन्नु भयो, नेपालको कम्पनी र कतारको कम्पनीलाई दूतावासबाट फोन गर्दा पनि गम्भीर रूपमा लिनु भएन ।'

कतारमा रहेको नेपाली दूतावासमा गएपछि म्यानपावर कम्पनीले 'इज्जत गयो' भन्दै मुद्दा हालेको उनले बताइन् । 'नेपाल आइसकेका थियौं,' उनले भनिन्, 'विमानस्थलमा आएपछि मुद्दा हालेको थाहा पायौं,फेरि उतै फर्किएर १० दिन जेल बसेर नेपाल आउन सफल भयौं ।'

प्रकाशित : माघ २५, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×