काठमाडौँ — कांग्रेस सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि नीतिगत तहमा नै कदम चाल्नुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएकी छन् । उनले समाजमा व्याप्त रहेको बालविवाह लाई निर्मूल पार्न विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्थाका लागि संकल्प गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।
सांसद चौधरीले सोमबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । 'लैंगिक हिंसाले संरचनागत रूपमै जरो गाडेको छ, यहाँका बालिकाहरूमाथि हुने बालविवाहजस्तो गम्भीर अपराधले उनिहरूको शारीरिक, मानसिक विकास रोकिनुका साथै गम्भीर हिंसाबाट प्रभावित छन्,' संकल्प प्रस्तावमा उनले भनेकी छन्, 'तसर्थ, नीतिगत रुपमा नै बालविवाहलाई पूर्णतः निर्मूल गर्न, हरेक बालबालिका २० वर्ष पुगेपछि विवाहको लागि बालिग भएको दर्तापत्र सम्बन्धित पालिकाका वडा कार्यालयबाट अनिवार्य लिनुपर्ने व्यवस्था गरियो भने यसमा निक्कै ठुलो सकारात्मक परिवर्तन देखिन सक्छ ।'
जसरी जन्म दर्ता नागरिकता र अन्य कागजात राज्यले दिन्छ, त्यस्तै विवाहपूर्व वडाबाट आफू २० वर्ष पूरा भएको बालिग दर्तापत्र अनिवार्य लिनुपर्ने गर्नुपर्ने सांसद चौधरीको भनाइ छ । उनले संकल्प प्रस्ताव छलफलमा ल्याउनका लागि अनुरोध पनि गरेकी छन् ।
