१५ सय कामदारलाई कार्यस्थलमा आधारित रोजगारमुलक तालिम दिइने

माघ १४, २०८०

न्युज एजेन्सी नेपाल

काठमाडौँ — उद्योगहरुमा रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनको लागि कार्यस्थलमा आधारित रोजगारमुलक तालिम दिइने भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक कार्यक्रमका बीच लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र,  नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनका लागि त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता पत्रमा केन्द्रका  कार्यकारी निर्देशक दीपक घिमिरे,  उद्योग परिसंघको तर्फबाट महानिर्देशक दीपक जोशी र उद्योगहरुको तर्फबाट सम्बन्धित प्रतिनिधिहरुले हस्ताक्षर गरे । 

सम्झौतामा ६ उद्योगहरुले १ हजार ६६३ जना प्रशिक्षार्थी श्रमिक छनोट गरी प्रशिक्षण प्रदान गर्ने र रोजगारी दिने उल्लेख छ । 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सम्झौताबाट स्वदेशमा नै तालिम प्राप्त दक्ष जनशक्ति निर्माण हुने र देशभित्रै सीपयुक्त रोजगारीको अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । उनले रोजगारीको लागि नेपाली युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको र मुलुकमा दक्ष जनशक्ति अभाव भएर उद्योगहरु सञ्चालनमा विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

उनका अनुसार सरकारले कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षणक कार्यक्रम अन्तर्गत् ४ हजार दक्ष कामदार बनाएर रोजगारी सिर्जना लक्ष्य रहेको बताए । 

न्युज

Link copied successfully