साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला

माघ १४, २०८०

होम कार्की

काठमाडौँ — साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।

साउदीले अवैध (अलेखबद्ध) रुपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीब्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानुन उल्लंघन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लंघन गरेका छन् ।

साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सुचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ । ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धीत देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्रचार गरिएको जनाएको छ ।

रियाद स्थित नेपाली दूतावासका अनुसार साउदी रोजगारदाताहरुले नेपाली कामदारको भिसा नविकरण नगरिदिने, समयमा नपठाइदिने र बिना भिसा काममा लगाइदिने भएकोले कामदारहरु कानुनी परिबन्दमा पर्दै आएका छन् । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully