नेपालको आर्थिक–सामाजिक क्षेत्रमा कतारको सहयोग महत्वपूर्ण : मन्त्री आचार्य

माघ ५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्रराष्ट्र कतारले नेपालको आर्थिक-सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै प्रशंसा गरेका छन् ।

रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबीचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो ।

शुक्रबार काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै उनले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा समेत गरे।

हालसालै तराईका जिल्लाहरुमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसंग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिव जनताको हितमा बलियो साथ दिइरहेको बताए ।

‘कतारसँग हाम्रो गहिरो सम्बन्ध रहेको छ । हाम्रा साँढे ६ लाख नेपाली दिदीभाई, दाजु बहिनी रोजगारीको शिलशिलामा कतारमा पुगेका छन् । यस कुराले पनि समूदाय-समूदायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लगेको छ । वास्तवमा कतार च्यारिटीले नेपालको विभिन्न भागमा नेपाली जनतालाई जुन ठूलो सहयोग पुर्‍याएको छ,' मन्त्री आचार्यले भने, 'त्यसको म मुक्तकण्ठले प्रशंशा पनि गर्न चाहन्छु ।'

मन्त्री आचार्यले विभिन्न व्यवसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully