बाक्लिँदै नेपाल-चीन ओहोरदोहोर 

एक वर्षमा डेढ दर्जन नेपाली टोलीद्वारा चीन भ्रमण, चिनियाँ उच्च पदस्थ प्रतिनिधि मण्डलको नेपाल आगमन पनि उत्तिकै

पुस २९, २०८०

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली पक्षसमक्ष खुलेरै असन्तुष्टि जनाए । जयशंकर काठमाडौं आएकै दिन गएको बिहीबार दिउँसो चीनबाट युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङ पनि नेपालको चारदिने भ्रमणका लागि काठमाडौं उत्रिएका थिए ।

जयशंकर नेपालको दुई दिने भ्रमण पूरा गरी शुक्रबार नयाँ दिल्ली फर्के भने एसियाको भ्रमणमा निस्केका चिनियाँ नेता सी पनि आइतबारै स्वदेश फर्किएका छन् ।

पछिल्लो एक वर्षको आँकडा मात्र हेर्ने हो भने चीनबाट नेपाल भ्रमणमा आउने चिनियाँ नेता सी पहिलो होइनन् । २०७९ को पुस १० मा पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएयता हालसम्म चीनबाट प्रभावशाली चिनियाँ नेताहरूसहित आधा दर्जन पार्टीका नेताहरूले नेपालको भ्रमण गरिसकेका छन् ।

यस्तै, नेपालबाट प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, विभिन्न मन्त्रीहरू र विभिन्न दलका अध्यक्ष तथा नेताहरू गरी डेढ दर्जन नेपाली टोलीले उत्तरी छिमेकको भ्रमण गरिसकेका छन् ।

राजनीतिक शास्त्रकी प्राध्यापक मीना वैद्य मल्ल ऐतिहासिक र पौराणिक सम्बन्ध भएको मुलुकमा नेपालको भ्रमण आदान–प्रदान हुनुलाई सकारात्मक मान्छिन् ।

‘त्यो उच्चस्तरबाट भ्रमण भइरहनु सकारात्मक नै लिनु पर्छ । तर चीन भ्रमण देशको विकास, उन्नति, पूर्वाधार निर्माणदेखि आर्थिक सहयोग लगायत दृष्टिकोणले फाइदाजनक हुन आवश्यक छ,’ उनले भनिन्, ‘हामीले पब्लिक डिप्लोमेसी तथा राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर माथिल्लो तहका व्यक्ति र नेताहरूले भन्दा पनि आमजनस्तरमा सम्बन्ध स्थापित हुने गरी भ्रमणलाई उपयोग गर्न सक्नु पर्छ ।’ मल्लले ती भ्रमणहरू पारदर्शी र उपलब्धिमूलक हुनुपर्ने पनि बताइन् ।

चीनतर्फको भ्रमणलाई हेर्दा एसिया भ्रमणमा रहेका युनानका नेता सीभन्दा अघि कात्तिक २२–२६ सम्म सीपीसीकै तिब्बत सचिव वाङ चुनचङ नेपाल आए । सुरक्षा संवेदनशीलताको हिसाबले महत्त्वपूर्ण मानिने चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री दाहालकै निमन्त्रणामा नेपाल आएका थिए । उनको नेपाल यात्राको क्रममा वेइजिङले कतै नेपाललाई अब तिब्बतबाट हेर्न थालेको त होइन भन्ने प्रश्नहरू पनि उठेको थियो ।

कांग्रेस र माओवादीको गठबन्धन सरकार रहेको नेपालमा चीनको चासो वामपन्थी शक्ति नै हो । तर, नेकपा बने पनि आन्तरिक कलहले एमाले र माओवादी पुरानै अवस्थामा आइपुगे । नेपालमा नयाँ सत्ता समीकरण बनेपछि पनि चिनियाँ पक्षले एकपछि अर्को भ्रमण गर्दै यहाँको अवस्था बुझ्ने र आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने काम गर्दै आइरहेको छ ।

सीपीसी सिचुवानका सचिव वाङ सिआयो हुई गत जेठ १६–२० मा नेपाल भ्रमणमा आए । प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमणमा निस्कनुअघि जेठ १७ गते उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरे । भारत भ्रमणमा निस्किनुअघि दाहालसँग हुईको भेटघाट मिलाउने व्यक्ति थिए, माओवादी केन्द्रका महासचिव देव गुरुङ ।

यस्तै, असार १–४ सम्म चिनियाँ कम्युनिस्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतृत्वको चिनियाँ टोली नेपाल आएर यहाँ भेटवार्ता गरेको थियो । सीपीसीका नेता तु स्याउलिनको नेतृत्वको टोलीले असार २७–३० सम्म नेपालको भ्रमण गर्‍यो । उनले नेपालमा भएका कार्यक्रममा नेपाल र चीन मिलेर सँगसँगै विकास गर्नु पर्ने उल्लेख गरेका थिए ।

पछिल्ला भ्रमणमा तिब्बतका सचिव वाङपछि नेपाल आउने उच्च तहका र महत्त्वपूर्ण नेता हुन्, सीपीसीका पोलिटब्युरो सदस्य तथा छोङचिङ प्रान्तका सचिव युआन च्या चुन । उनले साउन ७–९ सम्म नेपालको भ्रमण गरे । सोही अवधिमा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकबाट चीनले ‘चीन–दक्षिण एसिया गरिबी निवारण’ कार्यक्रमलाई सञ्चालन गर्‍यो । उनी युआन राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङका विश्वासपात्र हुन् ।

उनले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सत्तारूढ दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख र अन्य दलका नेतासँग भेटवार्ता गरेर फर्के । पछि नेपालबाट प्रधानमन्त्री दाहाल पनि उनको नगर पुगेर फर्केका थिए । यस्तै, असोज पहिलो साता चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका थिए ।

अर्कोतर्फ, नेपालबाट भने नौ महिनाको अन्तरालमै डेढ दर्जनभन्दा बढी उच्चस्तरीय भ्रमण भएका छन् । चीनले सरकारी तहको भ्रमणभन्दा पनि पार्टी–पार्टीबीचको भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ । चीनले पार्टी–पार्टीबीचको सहकार्यका लागि जोड दिए पनि नेपालका कम्युनिस्टभन्दा अन्य पार्टीको सवालमा भने संसदीय मामिलाको संयन्त्रमार्फत सम्बन्धलाई स्थापित गरिरहेको देखिन्छ । साथमा संसदीय मामिलाको सहकार्यलाई पनि बढाउन चाहेको छ ।

चीनले बाआओ फोरम फर एसियामा प्रधानमन्त्री दाहाललाई निम्तो गरे पनि उनले जेठमा भारतको औपचारिक भ्रमण गरेपछि मात्र असोज ६–१३ चीनको औपचारिक भ्रमण गरे । उक्त अवसरमा चीनले चाह्यो भने नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को कार्यक्रम कार्यान्वयन योजनालाई अघि बढाउनका लागि सहमति भएन ।

नेपालले सन् २०१७ मा बीआरआईमा सहभागी हुने हस्ताक्षर गरेको थियो । राष्ट्रपति सीले सन् २०१३ मा अघि बढाएको उक्त महत्त्वाकांक्षी परियोजनालाई हालसम्म कार्यान्वयनका लागि नेपालबाट सहयोग नहुनुलाई चीनले असन्तुष्टि देखाइरहेको चिनियाँसँग काम गरिरहेको जानकारहरू नै बताउँछन् ।

दाहालको भ्रमणमा नेपालले पहिलो पटक ‘एक चीन नीति’ बाट माथि उठेर ‘एक चीन सिद्धान्त’ मा सहमति गर्‍यो । त्यसले नेपाललाई के असर गर्छ वा अब के फरक पर्छ भन्ने विषयमा न नेपालका कूटनीतिज्ञहरूले बोलेका छन्, न त हस्ताक्षर गरेर आएकै प्रधानमन्त्री दाहालले नै प्रस्ट पारेका छन् ।

नेपालबाट जेठ ७–१९ मा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा एक टोलीले चीन भ्रमण गर्‍यो । प्रधानमन्त्री दाहाल दक्षिण छिमेकको भ्रमण गरिरहँदा सापकोटा उत्तरी छिमेकमा भ्रमण गरिरहेका थिए । दाहालको नेतृत्वको सरकार दक्षिण छिमेकतिर ढल्कियो र चीन भ्रमणको निम्तो पहिला आए पनि भारत जान लागे भन्ने प्रश्नहरू उठेपछि दाहालले रणनीतिक रूपमा सापकोटालाई भारत उड्नुअघि नै चीनमा पठाएको बताइन्छ ।

यस्तै, जेठ २८ देखि असार ६ सम्म राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरू जीवन परियार, धवलशमशेर जबरा, दीपा गुरुङ, हरिराम चौधरी, प्रदीप यादवसहितको टोलीले चीनको बेइजिङ, सांघाइ र ल्हासाको भ्रमण गर्‍यो । त्यसपछि असार ४–१० मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यक्रममा भाग लिन चीन भ्रमणमा निस्किए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा असार १३–१७ सम्म ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहमा सहभागी हुन एक टोली गएको थियो । उपसभामुख इन्दिरा राना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी कार्यक्रममा भाग लिन असार २२–२५ मा चीन गएकी थिइन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङको टोली साउन २५ देखि भदौ १ सम्म चीन भ्रमणमा निस्केको थियो । उपराष्ट्रपति रामसहायक प्रसाद यादवले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा पनि चीनलाई रोजे । उनले साउन २९ देखि भदौ ४ सम्म चीनको भ्रमण गरे । प्रमुख प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलको टोलीले भदौ १७–२९ सम्म चीनको भ्रमण गर्‍यो । उनले एमालेको पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेका थिए ।

उक्त भ्रमण टोलीका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा भूराजनीतिक जानकार गोपाल खनाल चिनियाँहरूले देङ स्याओपिङको समयमा ‘समय आएपछि मात्र क्षमता देखाउने’ भन्ने उल्लेख गरेको सम्झन्छन् । सन् १९७८ पछि अहिले राष्ट्रपति सीसम्म आउँदा चाहिँ देखाउन खोजेको भ्रमणहरूमा आफूले अनुभव गरेको खनालले उल्लेख गरे । ‘अहिलेका भ्रमणले देखाउन खोजेको सन्देश चाहिँ चीन महाशक्ति राष्ट्र हुँदैछ, चीनबाट त्यही सन्देश प्रवाह भएको हो ।

नेपालमा चीन मामिलामा जुन हिसाबमा बढी विषयहरू प्रस्तुत गर्छौं, त्यो मलाई लागेन । उनीहरू नेपालमा विकास, लगानी गर्ने र परम्परागत सम्बन्धलाई बढाउनेमा केन्द्रितछन् । उनीहरू सीपीसीमार्फत पार्टीगत सम्बन्धलाई बढाउन लागिपरेका छन्,’ उनले भने, ‘अर्को चाहिँ नेपाल राजनीतिक रूपमा स्थिर र आर्थिक रूपमा समर्थ होस् भन्ने चिनियाँको चाहना रहेको देखिन्छ । पछिल्लो पटक नेपालमा चीन विरोधी गतिविधि बढ्न लागेको भन्ने संकेत उनीहरूले देखाएका छन् । उनीहरूले नेपालमा अमेरिका र पश्चिमाको गतिविधिहरू बढेको भन्ने चिन्ता मैले पाएँ ।’

यस्तै, असोज १७ देखि २१ सम्म राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको नेतृत्वमा राष्ट्रिय सभाका सांसदहरू अनिता देवकोटा, रमेशजंग रायमाझी, गोपीबहादुर सार्की, नरपति लुहार, मदनकुमारी शाह र मोहम्मद खालिदको टोलीले चीन भ्रमण गरेको थियो । अर्यालले तिब्बतमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी थिइन् ।

उपाध्यक्ष अर्यालले चीन भ्रमणका दौरानमा चिनियाँहरूले नेपालसँग सहकार्य गर्ने र नेपाललाई सहयोग गर्ने सम्बन्धमा कुराकानी गरेको बताइन् । उनले भनिन्, ‘नेपालले चीनलाई प्राथमिकतामा राख्नु पर्छ । बीआरआई कार्यान्वयन गर्ने र नेपालको उत्तरी सिमानाहरूमा विकासका लागि सहकार्य गर्न सकिन्छ । उहाँहरूले सहकार्यको हात बढाऔं, मिलेर काम गरौं भन्नु भएको थियो,’ उनले भनिन्, ‘हामी सांसदहरूले नीतिगत रूपमा कुरा गर्ने हो ।

चीनबाट आएपछि हामीले आफ्नो तर्फबाट सरकारलाई जानकारी गराएका छौं ।’ उनले नेपालले चीन र भारत दुवै मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नु पर्ने पनि बताइन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ तेस्रो बीआरआई सम्मेलनमा भाग लिन असोज २९ देखि कात्तिक ८ सम्म चीन गए । उपप्रधानमन्त्री श्रेष्ठ फर्केको एक दिनपछि कात्तिक १० मा प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणमा निस्किए । उनी बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भए ।

कात्तिक १६ मा नेपाल फर्कनुअघि शर्माले सियान सिटी, सांघाई र गोन्जाउ अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए ।

कात्तिक २१–२७ सम्म एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो । साथै, कात्तिक ३० देखि मंसिर ५ सम्म सान्क्षी प्रान्तको सियान सहरमा आयोजना गरेको बीआरआई र सिल्क रोडसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा एक टोली चीन भ्रमणमा निस्कियो ।

यसैगरी मंसिर दोस्रो–तेस्रो सातासम्म एमालेका उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा एक टोली चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास) ले आयोजना गरेको १३ औं विश्व समाजवाद फोरममा भाग लिन चीन भ्रमण गरेको थियो । चीनको वाणिज्य मन्त्रालयअन्तर्गत रहेको संस्था ‘एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल’ (एआबीओ) ले आयोजना गरेको कार्यक्रममा भाग लिन नेपालका १७ जना सांसदहरूसहित २० जनाको टोली पुस २ देखि १२ सम्म चीन भ्रमणमा गएर फर्किएको थियो ।

पूर्वराजदूत तथा प्राध्यापक विजयकान्त कर्ण पछिल्लो समय कोभिड–१९ का कारण रोकिएका नेपाल भ्रमण पछिल्लो सयम चीनबाट बढिरहेको मान्छन् । उनी भन्छन्, ‘सन् २०१९ मा राष्ट्रपति सीको नेपाल भ्रमण भयो । त्यही बेलामा नेपालसँग ‘रणनीतिक सहकार्य’ गर्ने सहमति भइदियो । त्यो के भन्ने नेपालमा अझै थाहा छैन । तर चीनले त्यसपछि कोभिड–१९ को विगत ३ वर्षलाई छाड्ने हो भने त्यसपछि लगातार भ्रमण गराइरहेको छ ।

यसले नेपालमा चिनियाँ प्रभाव बढाउने काम गरिरहेको छ ।’ नेपालबाट प्रधानमन्त्री वा मन्त्रीबाहेक अन्य राजनीतिक पार्टीहरूको तहमा बढी भ्रमणहरू भइरहेको उनको भनाइ छ । ‘यी भ्रमणहरूले नेपालको राष्ट्रिय स्वार्थमा कसरी फाइदा गर्छ मलाई थाहा छैन । तर कम्युनिष्ट पार्टीहरूको भ्रमण आदान–प्रदान भइरहेको चाहिँ देखिरहेको छु,’ उनले थपे ।

पूर्वप्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार समेत रहिसकेका भूराजनीतिक जानकार खनालले भने भ्रमण हुनु सक्रिय कूटनीतिकै अंग भएको मान्छन् । ‘त्यसैले भ्रमणहरू हुनु स्वाभाविक हो । तर कूटनीतिकमा हामीले केमा ध्यान दिनु पर्छ भने ती भ्रमणहरू पारस्परिकता पनि चाहिन्छ । एउटा देशबाट भ्रमण भइरहने र अर्कोबाट भ्रमण नहुने चाहिँ ठिक हुन्न । तर व्यावहारिक रूपमा भ्रमणहरू देशको सामर्थ्यमा पनि भर पर्छन्,’ उनले टिप्पणी गरे, ‘चीन अहिले महाशक्ति बन्ने क्रममा छ । तर हामी विकासोन्मुख बाटोतिर लागिरहेको छ । यसलाई कूटनीतिमात्र नभएर व्यावहारिक दृष्टिकोणबाट हेर्दा चाहिँ ठूलो मुद्दा बनाउनु पर्छ जस्तो लाग्दैन ।’

नेपाल–चीन भ्रमण

चिनियाँ टोली

१६–२० जेठ: चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सिचुवानका सचिव वाङ सिआयो हुई ।

१–४ असार: चिनियाँ कम्युनिष्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतत्वको टोली ।

२७–३० असार: चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता तु स्याउलिनको नेतृत्वको टोली ।

७–९ साउन: चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य तथा छोङचिङ प्रान्तका सचिव युआन च्या चुन ।

असोज पहिलो साता: चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधि मण्डल ।

२२–२६ कात्तिक: चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ चुनचङ ।

नेपाली टोली

७–१९ जेठ: माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा एक टोली ।

२८ जेठ– ६ असार: राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरू जीवन परियार, धवलशमशेर जबरा, दीपा गुरुङ, हरिराम चौधरी, प्रदीप यादवसहितको टोली ।

४–१० असार: व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यक्रममा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वमा एक टोली ।

१३–१७ असार: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहमा सहभागी हुन ।

२२–२५ असार: उपसभामुख इन्दिरा राना बेल्ट एण्ड रोड इनीसीएटीभ (बीआरआई) सम्बन्धी कार्यक्रममा भाग लिन ।

२५ साउन – भदौ १: माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको टोली ।

२९ साउन – भदौ ४: उपराष्ट्रपति रामसहायक प्रसाद यादव नेतृत्वको टोली ।

१७–२९ भदौ: एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा २१ सदस्यीय पार्टीको उच्चस्तरीय टोली । 

६–१३ असोज: प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा चीनको औपचारिक भ्रमण ।

१७–२१ असोज: राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको नेतृत्वमा राष्ट्रिय सभाका सांसदहरू अनिता देवकोटा, रमेशजंग रायमाझी, गोपीबहादुर सार्की, नरपति लुहार, मदनकुमारी शाह, मोहम्मद खालिदको टोली ।

२९ असोज – कात्तिक ८: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बीआरआई सम्मेलनमा भाग लिन ।

१०–१६ कात्तिक: प्रधानसेनापति प्रभुराम शर्मा टोली ।

२१–२७ कात्तिक: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय टोली ।

३० कात्तिक – मंसिर ५: सान्क्षी प्रान्तको सियान सहरमा आयोजित बीआरआई र सिल्क रोडसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वको टोली ।

मंसिर दोस्रो र तेस्रो साता: चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास)ले आयोजना गरेको १३ औँ विश्व समाजवाद फोरममा भाग लिन एमाले उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोली । 

२–१२ पुस: चीनको वाणिज्य मन्त्रालय अन्तर्गत रहेको संस्था ‘एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल’ (एआबीओ) ले आयोजना गरेको कार्यक्रममा भाग लिन नेपालका १७ जना सांसदसहित २० जनाको टोली ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully