'भीआईपी कल्चर' भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढ्यो : प्रधानमन्त्री

पुस १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले 'भीआईपी कल्चर' भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । 

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कानुन सबैका लागि समान रहेको कुरा स्थापित गराउन सफलता मिलेको बताएका छन् ।

‘मैले संसद्मा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन । देशमा एउटा 'भीआइपी कल्चर' स्थापित भइरहेको थियो । हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो,' प्रधानमन्त्रीले भने, 'सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ ।’

राजनीतिक रूपमा शक्तिमा रहेका र उच्च पदस्थहरूलाई कानुन लाग्दैन भन्ने मान्यता तोडिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन । यसबाट कानुनको सर्वोच्चतामात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ । यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरण भनेको छु,’ उनले भने ।

सरकारको यो क्रम जारी रहने पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताए ।

‘वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ । एनसेलको सेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने । 

दाहाल सरकारको एक वर्ष

कान्तिपुर

Link copied successfully