काठमाडौँ — नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गरेको हो ।
सरकारी र निजी क्षेत्रमा कार्यदल बनाएर गरिएको अध्ययनअनुसार न्यूनतम पारिश्रमिक कम्तिमा ३७,१३५ हुनुपर्ने माग गरेको छ । एसोसिएसनका अध्यक्ष हरिबहादुर दर्लामीले सरकारले न्यूनतम पारिश्रमिक नतोक्दा इन्जिनियरहरु नै शोषणमा परेको र बाध्य भएर विदेश पलायन हुने अवस्थामा पुगिरहेको बताए ।
उनले सरकारले योग्यता र दक्षताको सम्मान गर्दै बढ्दो विदेश पलायनलाई रोक्न यथाशीघ्र न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गरे ।
साथै, निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तिमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने एसोसिएसनको माग छ ।
