काठमाडौँ — नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धि सन् १९२३ को डिसेम्बर २१ मा सिंहदरबार (जहाँ अहिले प्रधानमन्त्री कार्यालय छ) को स्टेट हलमा भएको थियो ।
त्यसबेला तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले नेपालको तर्फबाट र बेलायतकातर्फबाट लेफ्टिनेन्ट कर्णेल ओ कोन्नर (पछि नेपालका लागि बेलायतका पहिलो राजदूत भए) ले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए ।
त्यहि सन्धिबाट नेपालको विश्वसँग सम्बन्ध जोडिएको थियो भने नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा तत्कालीन ‘लिग अफ नेसन्स’ मा प्रस्तुत गर्दै सदस्यता पनि लिइएको थियो ।
उक्त सन्धि भएको बिहीबार १०० वर्ष पुगेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको त्यही हलमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा नेपालका लागि बेलायतका राजदूत रब फेनलाई बोलाएर उक्त सन्धिलाई फेरि एकपटक स्मरण गरेको हो ।
परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच सन् १८१६ मा द्विपक्षीय सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै सन् १९२३ को सन्धिले दुई मुलुकबीच गहिरो मित्रता र विश्वास स्थापित गरेको प्रष्ट पारे ।
‘हाम्रो सम्बन्धमा उत्कृष्ट नीतिलाई सम्मान गर्न हाम्रो नेताहरुले यो सन्धि गरेका हुन्, जसले मित्रता सहकार्य र पारम्परिक सम्मानलाई उजागर गर्छ,’ उनले भने ।
बेलायती राजदूत फेनले १०० वर्षको उपलक्ष्यमा हुन गइरहेको कार्यक्रममा सन्धिको हस्ताक्षर नै भएको स्थानमा भएकोमा खुसी व्यक्त गरे । उनले नेपाल कहिले पनि कसैको अधीनमा नरहेको मुलुक भएको उल्लेख गरे । ‘नेपाल कहिल्यै पनि कसैको अधीनमा पनि रहेन, उपनिवेशन पनि भएन र स्वतन्त्र मुलुकको रुपमा रहँदै आएको छ,’ उनले भने ।
परराष्ट्र सचिव सेवा लम्सालले बेलायत नेपालको पहिलो द्विपक्षीय सम्बन्ध भएको मुलुक रहेको र धेरै दशकदेखि नेपालको विकासमा सहयोग गर्दै आइरहेको बताइन् ।
