काठमाडौँ — प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्रीको विषयमा छलफल चल्दा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको परिवार समेत यसमा संलग्न छ कि छैन भन्ने प्रश्न गरेका छन् ।
प्रधानमन्त्री दाहाल र सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संचारमन्त्री र प्रधानमन्त्रीले एनसेल सेयर खरिदबिक्रीबारे धारणा राखेपछि सांसदहरूले बोलिरहेका छन् ।
सांसदहरूले प्रश्न गर्ने क्रममा प्रधानमन्त्रीको परिवारका सदस्य नै जोडिएको कुरा के हो भनेर उठाएका हुन् । सत्तारुढ कांग्रेस सांसद अजयकुमार चौरसियाले एनसेलको खरिद र बिक्रीको मूल्यमा ठूलो अन्तर रहेको बताए । उनले प्रश्न गरे, 'एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस् ।'
कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरा जोडिएको सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्ने बताए । 'सुशासन कायम गररेर आर्थिक समृद्धिमा अघि बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको छ । यो प्रकरण नेताको परिवारसँग जोडिन्छ । यसमा कति सत्य होला ?'
प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउ गर्ने कि छानबिन गर्ने भनेर कांग्रेस सांसद इश्वरी न्यौपानेले बताइन् । उनले भनिन्, 'प्रधानमन्त्रीको परिवार पनि जोडिएको छ भन्ने सार्वजनिक भइरहेको । अब यसलाई गणतन्त्रमाथिको प्रहार वा राम्रो काम गर्दागर्दै पनि यस्तो भएको भन्ने हो कि !,' उनले भनिन् । छानबिन समितिले ढाकछोप गर्छ भन्ने प्रश्न उठेकोतर्फ ध्यान दिएर राज्यका निकायहरूले नै उचित छानबिन गर्नुपर्ने उनको माग थियो ।
एनसेल खरिदबिक्रीका क्रममा प्रसस्त नाफा कमाउँदा पनि नाफा नभएको भन्ने दाग नेपाललाई लगाएकोतर्फ पनि ख्याल गर्न पनि सांसद न्यौपानेले आग्रह गरे ।
प्रमुख प्रतिपक्ष एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए । उनले प्रधानमन्त्रीको परिवारसँगै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई पनि एनसेल खरिदबिक्रीको विषयसँग जोडिएकाले गम्भीर बन्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा चौधरीले एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरालाई जोडिएको विषयलाई पनि ख्याल गर्नुपर्ने बताइन् । उनले यस विषयमा छानबिन हुनुपर्ने धारणा राखेकी छन् ।
