रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउ : परराष्ट्र मन्त्रालय

मंसिर १८, २०८०

होम कार्की

काठमाडौँ — रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ । रुसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ ।

रुसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो । नेपालले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ ।

‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ,' परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी रुसी सेनामा भर्ना भइ हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।

त्यस्तै सरकारले रुस जान रोक लगाएको छ । अब सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्न रोक लगाइएको हो । रुस जानु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभागबाट ‘एनओसी’ लिनु पर्नेछ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully