संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

मंसिर ७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको पिथौरागढमा शुक्रबारदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।

'२०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी आयोजना हुँदै आएको संयुक्त अभ्यास सूर्य किरणको यो १७ औँ संस्करण हो । गत वर्ष मिति २०७९ पुस १ गतेदेखि  पुस १४ गतेसम्म रुपन्देही जिल्लाको सालझण्डीमा यसको १६ औँ संस्करण सञ्चालन भएको थियो,' जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ । 

संयुक्त अभ्यासमा सहभागी हुने नेपाली सेनाबाट प्रमुख सेनानी केसीको नेतृत्वमा ३ सय ३४ जना को सहभागी हुने जंगी अड्डाले जानकारी दिएको छ । यो अभ्यास मंसिर २१ गतेसम्म सञ्चालन हुने बताइएको छ । 'संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपद् व्यवस्थापन, प्रति व्रिदोह तथा प्रतिआतंकवादलगायत जंगल युद्धकला सम्बन्धी व्यवहारिक अभ्यास गर्नेछन्,' जंगी अड्डाले भनेको छ ।

कान्तिपुर

Link copied successfully