जीप दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

रुकुम पश्चिम — रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका २ का अन्दाजी ७ वर्षका प्रतिक बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख नमराज भट्टराईका अनुसार ७ वर्षीय बुढाको उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा मृत्यु भएको हो भने ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको हो ।
भट्टराईका अनुसार दुर्घटनामा परी घाइते अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।
सोमबार बिहान चौरजहारी नगरपालिका १३ को रातामाटाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी ८ गोइरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घना भएको थियो ।
जीपमा सवार चालक सहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्ग अन्तर्गत गैरीजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमता भन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित : मंसिर ४, २०८० १७:४८