कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

चिसोले ७ जना भूकम्पपीडितको मृत्यु

कृष्णप्रसाद गौतम

जाजरकोट — घर भत्किएपछि त्रिपालको ओतमा खुला आकाशमुनि रात काट्दै आएका भूकम्प प्रभावितमध्ये थप दुईसहित ७ को चिसोका कारण ज्यान गएको छ । छेडागाड–१३ की ५६ वर्षीया मनसरा कामी र जुनीचाँदे–४ की ८९ वर्षीया सुगिली नेपालीको शनिबार मृत्यु भएको हो । यसअघि पनि चिसोकै कारण ५ जना भूकम्प प्रभावितको मृत्यु भइसकेको छ ।

चिसोले ७ जना भूकम्पपीडितको मृत्यु

जसमा बारेकोट–४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट–१ का ७० वर्षीय डुमे पुन र भेरी–२ का ८८ वर्षीय धुलेश्वर कार्कीले ज्यान गुमाएका हुन् भने गत साता मात्रै नलगाड–४ का ८४ वर्षीय गोपालबहादुर रावल र सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो । भूकम्पका कारण घर भत्किएपछि जाजरकोटका झन्डै ६७ हजार परिवार घरबारविहीन बनेका छन् ।

त्यसमध्ये ३० हजार ४ सय १३ परिवारले राहतस्वरूप एक/एक थान त्रिपाल मात्र पाएका छन् । एउटा त्रिपाल र कम्बलको भरमा मंसिरको चिसो रात कटाउन सास्ती भएको छ । ‘यस्तो ठिहिरोमा ५/६ जनाको परिवार एउटा कम्बलको भरमा त्रिपालमुनि कसरी रात कटाउने ?,’ लुहादहस्थित आधारभूत विद्यालयका शिक्षक प्रकाश नेपालीले भने, ‘यो हिमपात हुने ठाउँ हो, रातभरि शीत चुहिन्छ, बिहान तुसारो जमिरहेको हुन्छ ।’ उनका अनुसार कतिपय भूकम्प प्रभावित त चिसो छल्न रातभरि आगो तापेर जाग्राम बस्न बाध्य छन् ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले हिमपात हुने ठाउँमा भूकम्प प्रभावितलाई चिसो थेग्नै मुस्किल भइरहेको बताए । ‘यहाँ पुस/माघमा सधैं हिउँ पर्छ, यस्तो ठाउँमा एकसरो त्रिपालले कसरी चिसो धान्ला ?,’ उनले भने, ‘अधिकांश पीडितको पालमुनि पनि शीत चुहिन्छ, स्वस्थ मान्छे पनि एक रात त्रिपालमुनि सुते बिरामी हुने अवस्था छ, कसरी बचाउने ?’ उनका अनुसार सबैजसो वडामा झन्डै ५० देखि एक सय जना भूकम्पपीडित चिसोका कारण बिरामी परेका छन् । भूकम्प प्रभावितको उपचारका लागि सबै वडामा औषधिसहित प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

चिसोका कारण गाउँगाउँमा भूकम्प प्रभावितहरू थलिन थालेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि बताए । एकसरो लुगाको भरमा रहेका भूकम्प प्रभावितलाई रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेको उनले सुनाए । भने, ‘पालिकाभरि झन्डै ४ हजार ३ सय घर भत्किएर बाहिर खुला स्थानमा बसेका सबैजसो परिवारमा स्वास्थ्य समस्या नभएका मानिस भेट्टाउनै मुस्किल भएको छ । त्रिपालैपिच्छे बिरामी छन् ।’ अध्यक्ष गिरीले आइतबारदेखि उनीहरूको उपचारका लागि प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी खटाएको बताए ।

भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको नलगाड नगरपालिकामा चिसोका कारण झाडापखाला, ज्वरो, रुघाखोकी बढिरहेको छ । नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीले अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेको बताए ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रसाद घर्तीले पनि बालबच्चा, गर्भवती र ज्येष्ठ नागरिकको त्रिपालको बसाइ कष्टकर बनेको बताए । जिल्ला अस्पताल प्रमुख डा. प्रतीक्षा भारतीले दैनिक एक सय जनासम्म बिरामी जिल्ला अस्पतालमा उपचारका लागि आइरहेको बताइन् । चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिगि्रँदै गइरहेको उनको भनाइ छ ।

‘चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको छ,’ उनले भनिन्, ‘बालबालिकामा पनि निमोनिया, ज्वरो र रुघाखोकीको समस्या पनि बढिरहेको छ ।’ उनका अनुसार अस्पतालमा आउने झन्डै ८० प्रतिशत बिरामी चिसोकै बिरामी छन् । ‘जटिल अवस्थाका झन्डै २ दर्जन बिरामीको इमर्जेन्सीमा उपचार भइरहेको छ,’ उनले भनिन्, ‘तर औषधि र स्वास्थ्यकर्मी पर्याप्त भएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने छैन ।’

प्रकाशित : मंसिर ४, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?