नेपाल संवत्‌लाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री दाहाल

कार्तिक २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्‌लाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री दाहालले नेपाल संवत्‌ नै राष्ट्रिय संवत्‌ भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताएका हुन् ।

उनले नेपाल संवत्‌ ११४४ आउँदै गरेको उल्लेख गर्दै अब राष्ट्रिय संवत्‌ भनेर मात्रै नपुग्ने उल्लेख गरे। प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रूपमा मान्यता दिएकोसमेत बताए । 

‘पद्मरत्नजीले नै मलाई भन्नुभयो कि नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएँ । र त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो । अहिले अब नेपाल संवत ११४४ आउँदैछ । मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल संवतबारे कुरा गर्दा भनेको छु, अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्‍यो । अब मेरै भागमा परेको छ, सायद अब त्यो राष्ट्रिय संवत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ,’ उनले भने । 

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरिले प्रश्न उठाउने दुस्साहस गरेको बताए । 

कान्तिपुर

Link copied successfully