नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक दिल्लीमा 

कार्तिक २०, २०८०

राजेश मिश्र

नयाँदिल्ली — नेपाल– भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सोमबारबाट नयाँ दिल्लीमा प्रारम्भ भएको छ ।  सीमा वारपार अपराध नियन्त्रणका सम्बन्धमा देखिएका चुनौतीहरूका विषयमा बैठक केन्द्रित छ । 

भारतको सशस्त्र सीमा बल(एसएसबी) ले आयोजना गरेको उक्त बैठकमा नेपालका सशस्त्र प्रहरीको नेतृत्वमा अन्य सुरक्षा निकायका अधिकारीहरु सहभागी छन् । बैठकमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले र भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले गरेकी छन् ।

दुई देशको सीमा क्षेत्रको सुरक्षाको नेतृत्व भारतका तर्फबाट एसएसबीले र नेपालका तर्फबाट सशस्त्र प्रहरीले गर्दै आएको छ । दुवै सुरक्षा निकायबीच सन् २०१२ यता बर्सेनि उच्च तहमा समन्वय बैठक हुँदै आएको हो । गत वर्ष छैटौं समन्वय बैठकको आयोजना नेपालले गरेको थियो । यस पटकको बैठक सातौं हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दुई सुरक्षा निकायबीच अनुभव साटासाट र चुनौतीहरूका बारेमा छलफल गर्न नियमित रूपमा बैठकको आयोजना हुँदै आएको बताए । उनले बैठकको मुख्य फोकस सीमा क्षेत्रका सुरक्षाका मुद्दाहरू नै रहेको बताए । बैठकको समापन र संयुक्त हस्ताक्षरपछि मात्रै विषयगत कुरा बताउन सकिने उनले जनाए । 

स्रोतका अनुसार सीमापार अपराधको रोकथाम, दशगजा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई, नियमित र व्यवस्थित गस्ती, सूचनाको आदान प्रदानमा तिव्रता र सहजता नै बैठकमा छलफलका विषय छन् । नेपाली पक्षले भारतबाट नेपालतर्फ लागूऔषधको कारोबार बढेको विषयलाई प्राथमिकता साथ उठाएको छ । त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिनुपर्ने नेपाली पक्षले आग्रह गरेको छ ।

भारतका सीमवर्ती बजारबाट विभिन्न नेपालका विभिन्न स्थानसम्म लागूऔषध पुग्ने गरेको छ । नेपालमा प्रतिबन्धित कतिपय औषधि पनि लागूऔषधका रूपमा प्रयोग गरिने भएकाले त्यस्ता औषधि चेक गरेर चिकित्सकको सिफारिस भए मात्र प्रवेश दिनुपर्ने र त्यसमा कडाइ गरिदिन एसएसबीलाई नेपाली पक्षले आग्रह गरेको हो । 

त्यस्तै, गैरकानुनी रूपमा तस्करी गरेर सामानको ढुवानी कार्यलाई नियन्त्रणका लागि पनि सशस्त्रले एसएसबीको सहयोग खोजेको छ । भन्सार भएको बाटोबाट मात्रै सामान नेपाल प्रवेशका लागि छाडिदिने संयन्त्रको विकासमा सशस्त्रको एसएसबीसमक्ष जोड छ । विगतमा भारतको बाटो हुँदै रोहिंग्या शरणार्थी नेपाल पसेको जनाउँ दिँदै त्यस्ता घटना दोहरिन नदिन पनि एसएसबीचसमक्ष नेपाली पक्षले आफ्नो चासो प्रकट गरेको छ । 

एसएसबीका अधिकारीहरूले पनि खुला सिमानाको फाइदा उठाएर नेपाल हुँदै तेस्रो देशका नागरिक भारत पस्ने गरेको विषयलाई विशेष महत्त्व दिएको छ । उनीहरूले त्यस्तो हुन निदन नेपाली पक्षसँग आग्रह गरेका छन् । ‘सीमा क्षेत्रमा देखिएका नयाँ-नयाँ चुनौती र त्यसको नियन्त्रणमा कसरी सहकार्य गर्न सकिन्छ, बैठकमा त्यही विषयहरुमा मुख्य रूपमा छलफल भएको छ,’ बैठकमा सहभागी एक जना अधिकारीले भने ‘अपराध नियन्त्रणका लागि तत्कालै रियल टाइममै इन्टेलिजेन्स सेयरिङको संयन्त्र विकास गर्ने कोणबाट पनि कुराकानी भएको छ । बैठक सकिएपछि मात्रै धेरै कुराहरुको टुङ्गो लाग्नेछ ।’ 

बैठकमा नेपालबाट सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाल प्रहरीका नायब महानिरिक्षक विकासराज खनाल, राष्ट्रिय अनुसन्धानका नायब महानिरीक्षक भीम बुढाथोकी, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीसहितको टोली सहभागी छ । 

तस्बिरहरू : सशस्त्र सीमा बल/एक्स

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully