प्रधानसेनापति शर्मा चीन प्रस्थान

कार्तिक १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले विदाइ गरेका थिए । 

चीन भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने जंगीअड्डाले जानकारी दिएको छ । त्यस्तै चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग पनि प्रधानसेनापति शर्माले भेटवार्ता गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, सांघाई र ग्वाङझाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गगर्ने कार्यक्रम रहेको छ । उनी यही कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

प्रधानसेनापतिको भ्रमणदलमा भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहेका छन् । 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully