भूकम्प आउँदा आत्तिएर कौसीबाट हाम फाल्दा १ घाइते

कार्तिक ५, २०८०

हरिराम उप्रेती

गोरखा — आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको भूकम्पबाट गोरखाकी एक महिला घाइते भएकी छन् । पूजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा उनी घाइते भएकी हुन् ।

गोरखानगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी हुन् । उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । घाइते थापाको गोरखा अस्पतालमा सामान्य उपचार पछि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ । पूजाको भाँडा माझिहरेकी थापा भूकम्प आएपछि आत्तिएर कौसीबाट हामफालेकी थिइन् । 

यसैगरी भूकम्पले गोरखाकै बोर्लाङ र फुजेलमा केही घरहरू चर्केका छन् । पुराना घर चर्किएको प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully