बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

आश्विन २९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै 'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)'मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा 'हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च'को नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले  मुख्य वक्तव्य दिनेछन् । 

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवं पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत् छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि चिनफिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुनेछन् । 

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख  अनिल पोखरेल लगायत छन् । 

कान्तिपुर

Link copied successfully