इजरायलबाट २५४ नेपाली विद्यार्थीको हवाई उद्धार

इजरायलमा रहेका घाइते साथीलाई साथ दिन र बेपत्ताको खोजी गरिदिन सरकारसँग विद्यार्थीको आग्रह

आश्विन २६, २०८०

होम कार्की

काठमाडौँ — इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय साँझ ५ बजेर १७ मिनेट) मा उडेको थियो । कार्गो र इन्धनका लागि साँझ करिब ८ बजे दुबई ल्यान्ड गरेको विमान राति ११ बजे काठमाडौंका लागि प्रस्थान गरेको थियो । तेलअभिभस्थित नेपाली दूतावासका अनुसार इजरायलमा रहेका विद्यार्थीलाई उद्धार गरी ल्याइएको हो ।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ । 

इजरायलमा उद्धार गरिएका विद्यार्थी नेपाल फर्कने क्रममा विमानभित्र । तस्बिर सौजन्य : परराष्ट्र मन्त्रालय

बर्दियाका लुइस रिजालले कठिन अवस्थामा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला र आत्मविश्वास प्रदान गर्ने इजरायलीवासी नेपाली, सरकार र दूतावासप्रति आभार व्यक्त गरे । ‘हामीलाई साथीहरूले आफ्नो जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो । इजरायलमा भएका घाइतेलाई साथ दिन र बेपत्ता साथीको खोजी गरिदिन आग्रह छ,’ उनले भने । स्वदेश फर्किर्एका विपिन सुवेदीले पनि विपिन जोशीको खोजीको हो ।’ स्वदेश पठाउनका लागि नेपाली दूतावासले विद्यार्थीलाई बिहीबार बिहान २ बजेदेखि नै विमानस्थलमा ल्याउन थालेको थियो । ‘हामी बुधबार राति नै रामत नेगेभबाट हिँडेका थियौं । नेगेभबाट आउन दुई घण्टाजति लाग्यो,’ नितिन भण्डारीले भने, ‘विमानस्थलमा १२ घण्टा विमानको प्रतीक्षामा बस्यौं ।’ 

तस्बिर : अंगद ढकाल/कान्तिपुर

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विश्वविद्यालयसँग समन्वय गरी विद्यार्थीहरूको चाहनाअनुसार स्वदेश पठाइएको बताइन् । ‘पहिलो प्राथमिकता विद्यार्थीलाई दिइएको छ, अब कामदारलाई पठाइनेछ,’ उनले भनिन् । इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully