सांसदले गरे शिक्षा विधेयकमा व्यापक हेरफेरको संकेत

अधिकांश सांसद विधेयक पुनर्लेखन गर्नुपर्ने पक्षमा छन् भने केहीको संसदीय प्रक्रियाअन्तर्गत नै परिमार्जन गरेर हेरफेर गर्न सकिने जिकिर

आश्विन २०, २०८०

सुदीप कैनी

काठमाडौँ — संसद्‌मा विचाराधीन विद्यालय शिक्षासम्बन्धी विधेयकमा सांसदले व्यापक हेरफेर गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सत्ता र प्रतिपक्षी सांसदले विधेयकमा रहेका कमीकमजोरी सच्याएर मात्र शिक्षा विधेयक पारित गर्न सकिने बताएका हुन् ।

सरकारले सरोकारवालासँग छलफल, संवाद नगरी विधेयक संसद्मा दर्ता गरेकोप्रति पनि अधिकांश सांसदले असन्तुष्टि जनाएका छन् । प्रतिपक्षी सांसदले विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने माग राखे भने सत्तारूढ सांसदले संसदीय प्रक्रियाअन्तर्गत नै समितिबाट परिमार्जन गरेर विधेयकमा हेरफेर गर्न सकिने जिकिर गरे । संविधान र संघीयताको मर्म भावनाअनुसार मात्रै विधेयक टुंगोमा पुर्‍याउनुपर्नेमा सांसदहरू एकमत देखिएका छन् । जिल्ला शिक्षा कार्यालय राख्दा संविधान र संघीयताको मर्म पूरा नहुने औंल्याउँदै उनीहरूले माध्यमिक तहसम्म स्थानीय तहको एकल अधिकार रहेको प्रस्ट्याए । छलफलमा करिब ८० सांसदले भाग लिँदै विधेयकमाथि आफ्नो भनाइ राखेका थिए ।

सांसदले संविधानले व्यवस्था गरेको कक्षा १२ सम्मको शिक्षा निःशुल्कको ग्यारेन्टी हुनुपर्ने भन्दै त्यसका लागि निजी विद्यालयले शुल्क लिन पाउने तर सामुदायिक विद्यालयले लिन नपाउने व्यवस्था हुन नसक्ने जिकिर गरे । निजी विद्यालयको व्यवस्थापनबारे स्पष्ट हुनुपर्ने धारणा राख्दै निजी र सामुदायिक विद्यालयका विषयमा विधेयक विभेदकारी रहेकाले सदनले दुई खाले शिक्षा प्रणालीलाई अन्त्य गर्ने बाटो समात्नुपर्नेमा सांसदहरूले जोड दिए । शिक्षकसँग गरेका सम्झौतालाई विधेयकको अंग बनाउन पनि व्यापक हेरफेरको आवश्यकता रहेको उनीहरूले औंल्याए । सरकारले सम्झौतालाई संसद्मा पेस नगरेकामा उनीहरूले आपत्ति जनाए । 

कांग्रेस सांसद गगन थापाले संविधान र पाठ्यक्रमको अपेक्षा पूरा गर्ने गरी शिक्षा विधेयक पास गर्ने कार्यभार संसद्को रहेको बताए । ‘शिक्षा विधेयक अपेक्षा र अवस्था नहेरी खण्डखण्डमा उल्टोपाल्टो पारेर संसद्मा आएको छ,’ उनले भने, ‘त्यसलाई सुल्टो पारेर अघि बढाउने काम संसद् र संसदीय समितिको हो ।’ उनले विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षणलाई सबैभन्दा आकर्षक पेसा हुने गरी विधेयक अघि बढाउनुपर्ने बताए । ‘विद्यार्थी कक्षाकोठामा नटिक्ने र सबैले नसिक्ने अवस्था छ,’ सांसद थापाले थपे, ‘विद्यालय तह पूरा गरेपछि त्रिभुवन विश्वविद्यालयतिर हैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान्छन् ।’ यो अवस्थालाई शिक्षा विधेयकले सम्बोधन गर्न सक्नुपर्ने उनले औंल्याए । ‘विधेयक जनतामा लगेर पुनर्लेखन गर्नुपर्ने माग पनि उठेको छ । आवश्यक परे त्यो काम संसदीय समितिले पनि गर्न सक्छ,’ उनले भने ।

प्रतिपक्षी सांसदले विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने आवाज उठाएका थिए । एमाले सांसद रघुजी पन्तले सरकारले उल्टो बाटोबाट विधेयक अघि बढाएकाले फिर्ता लिनुपर्ने माग गरेका थिए । ‘सरकारले विधेयक दर्ता भए पनि सम्झौता गर्ने होइन । सरकारले शिक्षकसँग गरेको सम्झौता मान्न संसद् बाध्य छैन,’ उनले भने, ‘विधेयक प्रस्तुत गर्ने उल्टो तरिका भयो ।’ उनले सरकारले शिक्षकसँग संविधानविपरीत सम्झौता गरेको आरोप लगाए । ‘यो संघीयता र संविधानसँग मेल नखाने देखिन्छ । स्थानीय तहको अधिकारविपरीत जान सकिँदैन,’ सांसद पन्तले भने । सरकारले जिम्मेवार र परिपक्वताका साथ विधेयक पेस गरेको भए सरोकारवालासँग सम्झौता गर्नुपर्ने परिस्थिति नआउने उनले बताए । 

माओवादी केन्द्रका सांसद वर्षमान पुनले शिक्षा विधेयकमा सरकारले गर्न नसकेका कतिपय काम संसद्ले गर्नुपर्ने अवस्था आएको बताए । ‘सरकार स्वयंले विधेयक संसद्ले परिमार्जन गर्छ भनेर स्वीकार गरेको छ,’ उनले भने, ‘त्यसैले पनि सांसदको भूमिका बढेर आएको छ । यसमा सदनले पर्याप्त काम गर्नुपर्छ ।’ उनले संविधानको मूल मर्म र भावनाअनुसार मात्रै विधेयकलाई अघि बढाउन सकिने पनि प्रस्ट्याए । ‘संघीय स्वरूपमा जाँदा विधेयकमा कतिपय कुरा अपुग छन्, त्यसलाई संसद्ले पूरा गर्नुपर्छ । स्थानीय, प्रदेश सरकारका सरोकारलाई पनि सम्बोधन गर्दै जाने पर्याप्त ठाउँ छ । विधेयकलाई त्यहीअनुसार अघि बढाउन सकिन्छ,’ पुनले भने ।

कांग्रेस मुख्य सचेतक रमेश लेखकले संविधानको मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाका चिन्ता र चासोलाई पनि समेटेर शिक्षा विधेयक निष्कर्षमा पुर्‍याउने बताए । ‘विद्यार्थी, अभिभावक, शिक्षकको भावना समेट्नुपर्छ । संविधानअनुसार संसदभित्रैबाट गम्भीरतापूर्वक टुंगो लगाउन सकिन्छ,’ उनले भने । कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले विधेयकमा गरेका कमजोरीलाई संसद्ले सच्याउने प्रतिबद्धता जनाए । ‘सरकार र प्रतिपक्ष दुवैका लागि शिक्षा र समाज चाहिन्छ । दुवै पक्ष एक ठाउँमा उभिएर विधेयकको अपरेसन गर्नुपर्छ,’ उनले भने । 

एमाले सचेतक महेश बर्तौलाले भने शिक्षकसित सरकारले गरेको सहमति विधेयकको अंग कसरी बन्छ भन्दै शिक्षामन्त्रीलाई प्रश्न गरेका थिए । ‘विधेयक संसद्मा दर्ता भएपछि शिक्षकहरूले आन्दोलन गर्नुपर्‍यो । त्यसको जानकारी संसद्लाई छैन,’ उनले भने, ‘सरकारले शिक्षकसँग गरेको सहमति कार्यान्वयन नगर्न दाउपेच त गरेको छैन ? सहमति पालना हुनुपर्छ ।’ बर्तौलाले संविधानले निःशुल्क विद्यालय शिक्षा भने पनि विधेयकले त्यसको उल्लंघन गरेको जनाए । विधेयकमा निजी विद्यालयले शुल्क लिन पाउने व्यवस्था छ ।

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विधेयकमा रहेका संविधान र संघीयताविरोधी प्रावधानलाई संसद्ले सच्याउने बताए । ‘शिक्षा विधेयक औपचारिकतामा पास गर्नेभन्दा पनि गम्भीरतापूर्वक निष्कर्षमा पुग्नुपर्छ,’ उनले भने, ‘संविधानसँग अन्तरविरोधी कुरालाई विधेयकले संशोधन गर्नुपर्छ । कक्षा १२ सम्मको शिक्षालाई एकरूपता गर्नुपर्छ ।’ माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले व्यापक छलफल गरेर मात्रै विधेयक पारित गरिने प्रतिबद्धता जनाए । ‘संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र आधारभूत तह अनिवार्य भनेको छ । त्यसलाई दरिलो बनाउनुपर्छ,’ उनले भने, ‘स्थानीय तहको अधिकार विधेयकले अतिक्रमण गरेको छ । माध्यमिक शिक्षा स्थानीय तहमा नै व्यवस्थित गरिनुपर्छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद अर्यालले माध्यमिक तहको अधिकार स्थानीय तहमा हुनुपर्ने र जिल्ला शिक्षा कार्यालय राख्दा संविधानको व्यवस्थाविपरीत हुने टिप्पणी गरे । ‘निजी विद्यालयको व्यवस्था अस्पष्ट छ । शिक्षाको वर्गीय विभेदलाई विधेयकले कायम राखेको छ,’ उनले भने, ‘निजीमा पढ्ने युरोप, अमेरिका र सरकारीमा पढ्ने दुबई, कतार जाने परिपार्टीको अन्त्य कहिले र कसरी हुन्छ ?’ 

सांसद गोकुल बाँस्कोटाले विधेयकमा धेरै पक्षमा विरोधाभास रहेको टिप्पणी गरे । सरकारले व्यापक छलफलबिना विधेयक ल्याएकाले शिक्षकसँग फरक खालको सम्झौता गरेको उनले बताए । ‘उनले भने, ‘व्यापक छलफल नगरी विधेयक ल्याउँदा अलमल भएको छ । पुनर्लेखन गरिनुपर्छ ।’ पूर्वशिक्षामन्त्री तथा कांग्रेस सांसद अर्जुननरसिंह केसीले शिक्षा विधेयकलाई सरोकारवाला र विज्ञका सुझावका आधारमा निष्कर्षमा पुर्‍याउनुपर्नेमा सुझाव दिए । उनले भने, ‘विद्यालयलाई प्राज्ञिक र ज्ञानको स्थल बनाउनुपर्छ, राजनीतीकरण हैन ।’ केसीले निजी विद्यालयलाई नियन्त्रणभन्दा पनि नियमन गर्नुपर्ने बताए । 

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देलले सरकारले विधेयक फिर्ता नलिए पनि संसद्ले पुनर्लेखन गर्नुपर्ने जनाए । ‘विधेयकले सम्बन्धित क्षेत्रमा सकारात्मक आशा जगाउन सकेको छैन । शिक्षामा विकास र सुधारबिना अरू विकास अपूर्ण र अधुरो हुन्छ,’ उनले भने, ‘शिक्षकले दलीय क्रियाकलाप गर्न नपाउने हुनुपर्छ,’ उनले भने । सांसद प्रदिप यादवले शिक्षा विधेयकमा व्यापक संशोधनको जरुरी रहेको बताए । ‘विधेयक सामुदायिकलाई विस्थापन र निजीलाई पोस्न त आएको हैन ?,’ उनले प्रश्न गरे । शिक्षकका जायज मागलाई विधेयकमा समेट्न उनले सुझाव दिए ।

पूर्वशिक्षामन्त्री तथा रास्वपा सांसद शिशिर खनालले सार्वजनिक शिक्षामा रूपान्तरण गर्ने आत्मा विधेयकले नल्याएको टिप्पणी गरे । ‘जिल्ला र केन्द्रलाई बलियो बनाउने गरी आयो । प्रअको नियुक्ति, विद्यालय रेखदेख, अनुगमन र पुरस्कार जिल्लाबाटै हुने भनिएको छ,’ उनले प्रश्न गरे, ‘जिल्ला कति प्यारो भएको हो ? १० औं हजारको बलिदानबाट आएको संघीयता कसका लागि हो ?’ विद्यालय कर्मचारी र ईसीडी शिक्षकको दायित्वसमेत सरकारले लिनुपर्नेमा उनले जोड गरे । 

निःशुल्क शिक्षाको ग्यारेन्टी हुन नसकेकामा पनि खनालले असन्तुष्टि जनाए । ‘संविधानले निःशुल्क शिक्षा भनेको छ । सर्वोच्चले शिक्षालाई पब्लिक गुड भनेको छ । निजी विद्यालय व्यवस्थापन गर्ने अवधारणा विधेयकमा खै ?’ उनले भने । सुझावका लागि विधेयक नागरिक तहमा पठाउनुपर्ने उनले माग राखे । शिक्षा तथा स्वास्थ्य समितिकी सांसद विद्या भट्टराईले विद्यालय शिक्षा भनेर विधेयक ल्याउनु नै अवधारणागत रूपमा गलत रहेको टिप्पणी गरिन् । ‘सरोकारवालासँग छलफल नभएकाले पनि अस्पष्ट भएको हो,’ उनले भनिन्, ‘शिक्षाले वर्ग निर्माण गरेको छ, समानता कसरी कायम गर्ने भन्ने बोलेको छैन । मौलिक हक कार्यान्वयनको विषयमा पनि विधेयकले बोलेन, धेरै कुरा छुटेको छ ।’ उनले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति गर्ने व्यवस्था लागू गर्नुपर्ने जनाइन् ।

सांसद चन्द्रकान्त राउत शिक्षा विधेयक संघीयताविरोधी रहेको उल्लेख गरे । ‘जिल्ला शिक्षा कार्यालय राख्ने, केन्द्रमा मात्र परीक्षा बोर्ड, शिक्षक सेवा आयोग मात्र राख्ने व्यवस्था संघीयता विरोधी छ,’ उनले भने । शिक्षकलाई निजामतीको भन्दा बढी सेवासुविधासहित गुणस्तर सुनिश्चितता गर्ने जिम्मा पनि उनीहरूलाई दिनुपर्ने उनले जनाए । 

सांसद ठाकुर गैरेले शिक्षा विधेयकले आशा, भरोसा र विश्वास दिन नसकेको गुनासो गरे । ‘संविधानसम्मत पनि छैन, अधिकार कुण्ठित गरिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षाको संवैधानिक व्यवस्थालाई बेवास्ता गरेको छ,’ उनले भने । उनले पुनर्लेखन गरेर विधेयक पुनः पेस गर्नुपर्ने औंल्याए । सांसद चित्रबहादुर केसीले विद्यालय शिक्षा स्थानीय तहलाई नै जिम्मा दिनुको विकल्प नरहेको बताए । सांसद प्रदीप पौडेलले विधेयकले खुसी र आशा सञ्चार गर्न सकेन भने पनि संसद्ले सच्याउने ठाउँ रहेको जनाए । सत्तारूढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विधेयकले संविधानलाई समेत बेवास्ता गरेको जनाए । 

सांसद रञ्जुकुमारी झाले दलको शीर्ष नेताहरू गम्भीर नहुँदा शिक्षा प्रणाली धरापमा पर्दै गएको बताइन् । राप्रपा सांसद ज्ञानबहादुर शाहीले सांसदका छोराछोरी विदेश पढ्न जान नपाउने व्यवस्था गर्नुपर्ने माग राखे । निजी विद्यालयलाई सरकारीकरण गर्न नसके सरकारीलाई निजीकरण गरेर भए पनि विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । एमाले सांसद सराज अहमद फारुकीले शिक्षा विधेयकले विपन्नका कुरा समेट्न नसकेको जनाइन् । ‘शिक्षा विधेयकबाट मदरसालगायत परम्परागत शिक्षालाई समकक्षता दिएर मूलधारमा ल्याउनुपर्छ,’ उनले भने । अर्का सांसद छिरिङ डन्डुप लामा भोटेले किसान, मजदुरका बालबालिकाको हितमा शिक्षा विधेयक आउनुपर्ने जनाए । ‘निजी र सरकारीमा विभेद हट्नुपर्छ । माननीयका छोराछोरी विदेश पढ्न जान रोक्नुपर्छ,’ उनले भने । सांसद जाबेदा खादुनले विधेयक त्रुटिपूर्ण र विभेदकारी रहेको औंल्याइन् । ‘संविधानमा शिक्षा मौलिक हक हो । कोही पनि वञ्चित हुनुहुँदैन भनिएको छ । माविसम्म निःशुल्क हुन्छ भन्ने उल्लेख छ तर लाखौं विद्यार्थी विद्यालय बाहिर छन्,’ उनले भनिन्, ‘तिनलाई विधेयकले समेट्न सकेको छैन ।’

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully