कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा पोख्ने बनाइयो : पुन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक संजालको दुरुपयोग भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि नेपालमा त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको उनले बताए ।

सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा पोख्ने बनाइयो : पुन 

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा पुनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने बताए । लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा सीमित हुँदै गएको बताए ।

‘कतिपय अवस्थामा मूलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ । व्यक्ति-व्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्म छन्’, उनले भने, 'प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ । तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन । त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन । आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएको छ ।’

सामाजिक संजालको दुरुपयोगले समाजलाई असहिष्णुतातिर धकेल्न लागेको पनि पुनको भनाइ थियो । सामाजिक संजालका कारण व्यक्ति, समाज र राज्यका बारेमा एकांकी धारणाको विकास हुने अवस्था सिर्जना हुन थालेको पनि उनले बताए ।

प्रतिनिधिसभा सदस्य रहेका पुनले सामाजिक संजालमा आलोचना गरेकै भरमा नागरिकलाई प्रविधिको उपयोगबाट रोक्न भने नहुने बताए । उनले राजनीतिक दल र सरकारले समाजबाट एकांकी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पुनले राजनीतिक संघर्षको बलमा प्राप्त गणतन्त्र र संघीयता संस्थागत गर्दै युवाहरूलाई देशभित्रै भविष्य देखाउन सक्नुपर्ने बताए । उनले माओवादी केन्द्र र सरकार त्यसमा केन्द्रित रहेको पनि बताए ।

पुनले जो कोही मुछिने अवस्था आए पनि सुशासनका लागि थालेको सरकारको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताए ।

‘माओवादी केन्द्रको मुख्य एजेन्डालाई सबै राजनीतिक दलले स्वीकार गरेर आजको परिवर्तन सम्भव भयो । यसलाई परिमार्जन, सुढुढ र संस्थागत गर्ने जिम्मा पनि माओवादी केन्द्रकै रहेको छ,' उनले भने, 'सरकारले सुशासन, समृद्धि र साथै सामाजिक न्यायको कामलाइ अगाडि बढाएको छ । सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिँदैन ।’

प्रकाशित : आश्विन १४, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?