प्रधानमन्त्रीको चीन भ्रमणमा खुद्रा सहमतिमात्रै भए : एमाले सचिव भट्टराई

आश्विन १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा हुनैपर्ने सहमति नभएको प्रमुख प्रतिपक्ष एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमण खुद्रा मसिना कुरामा सीमित भएको उनको प्रतिक्रिया थियो । 

प्रतिनिधिसभाको आइतबारको बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा एमाले सचिव भट्टराईले नेपाल र चीनबीच उच्चस्तरीय विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीको भ्रमण असफल भएको पनि बताए ।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्यो, जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन । सामान्य खुद्रामसिना कुराहरू मात्रै भए । प्रधानमन्त्रीले तिर्थाटन पनि गर्नुभयो । छुट्टी पनि राम्रै मनाउनु भयो,' उनले भने, 'मुख्यतयाः चीनसँग हाम्रो बिआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो । त्यो चाहीँ देखिनेगरी केही पनि भएन । त्यसको अर्थ चीनसँग जुन ढंगले हामीले गम्भीरताका साथ डिलिङ गर्नुपर्थ्यो त्यो हुन सकेन । नेपालप्रति चीनका कतिपय आशंका छन् तीनमा विश्वास दिलाउनुपर्थ्यो त्यो विश्वास दिलाउन सकिएन ।'

नेपालको चुच्चे नक्शा, लिपुलेक, लिम्पियाधुरामा भारत र चीनबीच भएको सहमति लगायतका विषयमा पनि प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन नसकेको भन्दै भट्टराईले सफलता नदेखेको बताए । 

'कताकता सरकार अरु कुनै शक्ति राष्ट्रको प्रभावमा ज्यादा परेर चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकिएको जस्तो देखिन्छ । यो भ्रमणले त्यसमा कुनै सफलता प्राप्त गरेको देखिँदैन । बीआरआई चीनसँगको मुख्य एजेन्डा हो । तर त्यो एजेन्डामा प्रवेश गरेको छैन,' उनले थपे, 'लिपुलेक, लिम्पियाधुरामा भारत र चीनले बसेर गरेको सहमतीमा नेपाललाई इग्नोर गरेको छ । त्यो विषय उठाउनुपर्ने छ । हाम्रो चुच्चे नक्शाको बारेमा चीनले जारी गरेका आफ्नो आधिकारिक नक्साको बारेमा कुरा उठाउनुपर्ने थियो त्यो उठेको छैन ।’

कान्तिपुर

Link copied successfully