काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण औसतभन्दा सफल भएको बताएका छन् । प्रधानमन्त्रीले अमेरिका, संयुक्त राष्ट्रसंघ, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दा बढी उठाएको आफूले पाएको बताए ।
प्रतिनिधिसभाको बैठकपछि सांसद झाले आइतबार संघीय संसद् भवनमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको चीन र संयुक्त राष्ट्रसंघ भ्रमणबारे आफ्नो धारणा राखेका हुन् ।
‘यस पटकको भारत, चीन र अमेरिकाको भ्रमणको क्रममा एउटा समान रुपमा के कुरा देखिएको छ भने प्रधानमन्त्रीले आर्थिक र वातावरण सम्बन्धी मुद्दाहरू, भाइचारा, संस्कृति सम्बन्धी मुद्दाहरू धेरै उठाउनुभएको छ । राजनीतिक मुद्दाहरूमा अलि सजग भएको हो कि भन्ने पाइएको छ,' उनले भने, 'सम्भवतः राजनीतिक रुपमा उहाँ कुनैपनि जोखिम लिन चाहानुहुन्न । तसर्थ यस्तो सम्वेदनशील मुद्दा उठाउनुभएन भन्ने भ्रमणको उहाँको स्वार्थ देखिन्छ त्यहाँ । तर हामी सोध्ने छौँ नक्साको बारेमा किन बोल्नुभएन तपाईंले चीनमा भनेर । यो भ्रमणलाई औसत भन्दा सफल भन्न सकिन्छ । यो असफल होइन, असफल भन्न सकिदैनँ अहिलेको अवस्थामा ।’
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघ हुँदै चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका थिए । उनले आइतबार आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए ।
