काठमाडौँ — कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चीन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण विकास निर्माणका योजनामा पनि सम्झौता भएको लेखकको भनाइ थियो ।
प्रतिनिधिसभा बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै लेखकले प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको बताए । प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक रहेको लेखकको भनाइ थियो ।
'छिमेकी राष्ट्र चीनको भ्रमण पनि उत्साहजनक छ । दुईवटा देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको छ । हमेशा मगन्तेको जस्तो कुरा गर्नु हुँदैन । विदेश भ्रमणमा गएर कुन ठाउँबाट के ल्याएर आयो भन्नुभन्दा पनि यो त राष्ट्र हो नि, अर्को देश जाँदा पहिलो कुरा के हो भने हामीले हाम्रो राष्ट्रिय स्वाभिमानलाई जोगाएर, राष्ट्रिय स्वाभिमानको आधारमा छलफल गर्न सक्यौँ कि सकेनौँ ? विश्वासको वातावरण बनाउन सक्यौँ कि सकेनौँ ? त्यो दुईवटै कुरा भएको छ,' उनले भने, 'जहाँसम्म सडक बनाउने, ट्रान्समिशन लाइन बनाउने, पुल बनाउने, खानेपानी बनाउने कुराहरू होलान् ती विकास निर्माणसँग जोडिएका कुराहरू हुँदै गर्छन् । सबैभन्दा पहिला कुटनीतिको सफलता भनेको समान स्तरमा विश्वासको वातावरण निर्माण गर्ने कुरा हो, त्यो भएको छ ।’
प्रधानमन्त्री दाहाल आफैले पनि उक्त कुरा संसद्को रोष्ट्रमबाट जानकारी गराएको लेखकले बताए । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा पनि सफल रूपमा प्रस्तुत भएको लेखकको भनाइ थियो ।
