करोडौं ठगेर म्यानपावर सञ्चालक फरार

आश्विन ५, २०८०

होम कार्की

काठमाडौँ — अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ ।

पीडितमध्येका एक धर्मभक्त मानन्धरले अमेरिका पठाइदिन्छु भनेर आफूसँग १५ लाख रुपैयाँ लिएको बताए । ‘मासिक चार हजार डलर तलब हुन्छ, २० लाख लाग्छ भनेपछि १५ लाख रुपैयाँ दिएँ,’ उनले भने, ‘पैसा बुझाएपछि धेरै समय झुलाउने काम भयो । अहिले त सम्पर्कविहीन छन् ।’

अर्का पीडित दोर्जी शेर्पाले पनि अमेरिका पठाइदिन्छु भन्दै म्यानपावरले ४० लाख ठगी गरेको बताए । ‘अमेरिकाको होटलमा काम लगाइदिने सुनिश्चित गरिदिएका थिए । म एक्लैको ४० लाख रुपैयाँ लिएर पठाइदिएन,’ उनले भने । विस एचआरले सबैभन्दा बढी पोर्चुगल र पोल्यान्ड पठाइदिने भन्दै रकम असुल गरेको छ । अर्का पीडित दिनेशराज बोगटीले पोल्यान्ड जानका लागि ९ लाख ४० हजार बुझाएका थिए । ‘७ सय ८० डलर मासिक तलब पाउने सेक्युरिटी गार्डमा लगाइदिन्छु भनेको थियो,’ उनले भने, ‘रकम बुझाइसकेपछि सञ्चालकले ग्यारेन्टीका लागि ९ लाखको चेक दिएका थिए । न चेक साटियो, न म पोल्यान्ड जान पाएँ ।’ ईश्वर केसीले पोर्चुगलमा होटलमा काम गर्नका लागि १३ लाख ५० हजार रुपैयाँ बुझाएको बताए । तर, अहिले उक्त म्यानपावरका सञ्चालकहरू फरार छन् । 

वैदेशिक रोजगार विभागले ठगी गरी फरार म्यानपावर कम्पनी खारेज गरी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको धरौटी बढाउने नीति कार्यान्वयन गरेपछि ठूलो रकम ठगी गरेर सञ्चालक फरार भएको पहिलो घटना हो । सरकारले २०७५ मा धरौटी बढाएको थियो । मन्त्रालयले २ देखि ५ करोडसम्म धरौटी राख्ने नीति ल्याएको थियो । यो म्यानपावर कम्पनीले ५० लाख धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी विभागबाट वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत लिएको थियो ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार म्यानपावरका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, महाप्रबन्धक लालबहादुर पुलामी, सञ्चालक अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइरालाविरुद्ध असोज २ गते मुद्दा दायर भएको हो । उनीहरूमाथि ३ करोड ८२ लाख बिगो, १ करोड ९१ लाख हर्जाना गरी ५ करोड ७३ लाख रुपैयाँ मागदाबी गरिएको छ । 

विस म्यानपावरको विभागमा राखिएको धरौटीमध्ये ३५ लाख रुपैयाँ नगद बाँकी छ । १ करोड ५० लाख बैंकको ग्यारेन्टी छ । विभागले पीडितहरूबाट बैंक भौचर, सक्कल लिखत कागज, साक्षीको कागज, बैंक चेकसमेतका आधारमा प्रमाण संकलन गरेको छ । वैदेशिक रोजगार ऐन, २०६५ को दफा ४४ अनुसार ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई तीनदेखि सात वर्षसम्म कैद हुने व्यवस्था छ । पछिल्लो समय युरोप जानेको नाममा उच्च ठगी भइरहेको छ । विशेषगरी माल्टा, रोमानिया, पोल्यान्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा ठगी भइरहेको हो ।

‘रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिसा फ्रि टिकटका बारेमा सम्बन्धित इजाजत प्राप्त संस्थामा स्वयं उपस्थित भई वा विभागमा सम्पर्क गरी यकिन गरेर मात्र जान सम्बन्धित सबैमा अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भने, ‘असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा कोही पनि पर्नुभएन ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully