मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

आश्विन २, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा सुवाष नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले देशलाई दूरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्। 

देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि उनको दाबी छ । आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आग्रह गरे । 

‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ । त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ । त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन । एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनुपर्‍यो । विचारहरू कमजोर ढंगले समाउने, विचारका पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं । मिसन  २०८४ पुर्‍याउन सक्दैनौं,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताका रूपमा चित्रण गरे । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully