कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो । 

कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन

कोइरालानिकट केन्द्रीय सदस्य एवम् सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकारप्रति चित्त बुझाउने आधारहरू नरहेको निष्कर्षमा पुगेको बताए । ‘सरकारका गतिविधिमा चित्त बुझाउने अवस्था छैन । सरकारमा हाम्रो नेतृत्वमा छैन, तर सरकारमा हाम्रो पार्टी पनि सहभागी छ, त्यसैले सरकारले गरेका कामलाई नजिकबाट निगरानी र नियन्त्रण हाम्रो दायित्व हो,’ उनले भने, ‘सरकारले जनताको दैनिकीलाई छुन सकेको छैन । सरकारका काम, सरकारले लिइरहेका निर्णयहरू ठीक छैनन् भन्ने हाम्रो निष्कर्ष छ । हामी यसबारे पार्टीको केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ ।’

गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए ।

यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए ।

बैठकले केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भनेर तयारी गरेको नेता गौतमले जानकारी दिए । ‘नियमित केन्द्रीय कार्यसमिति बैठक पर्सिदेखि बस्दैछ । त्यो बैठकमा हामी कसरी प्रस्तुत हुने ? कुन विषयहरू उठाउने ? भन्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘पार्टी र देशलाई कसरी अघि बढाउने ? त्यसमा पार्टीको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयहरूमा तयारी भएको छ ।’

प्रकाशित : आश्विन २, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?