

काठमाडौँ — शिक्षा विधेयकमा असहमति जनाउँदै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा नबस्ने जनाएको छ ।


शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो ३ बजे वार्तामा आउन अपिल गरेको थियो । मंगलबार शिक्षा दिवस समारोहमा सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र शिक्षामन्त्री अशोक राईले समेत वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।
शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको ठम्याइ छ । महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने जनाएका छन् । विगतमा भएका वार्ता, सहमतिका बुँदाहरु विधेयकमा समावेश नगरी संसद्मा पेस गरिएकाले वार्ताको औचित्य नरहेको सुवेदीले जनाए । महासंघले आन्दोलन तयारीको निर्णय गर्न केन्द्रीय समितिको बैठक डाकेको छ ।
कार्यवाहक प्रधानमन्त्री खड्काले भने संसद्बाट विधेयक सच्याएर उन्नत बनाउने सम्भावना बाँकी नै रहेको बताएका छन् । संविधानको व्यवस्था ऐन, नियम बन्नु पर्ने पनि उनले जनाए । शिक्षकहरुले भने स्थानीय तह अर्न्तगत बस्न अस्वीकार गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा हुने व्यवस्था गरेको छ ।
प्रकाशित : आश्विन २, २०८० १४:३७