काठमाडौँ — सरकारले विधेयक दिन नसकेपछि संसद् बिजनेसविहीन भएको छ । बैठक चलाउने कुनै एजेन्डा नै नभएपछि राष्ट्रिय सभाको बैठक बस्ने मिति नै अनिश्चित भएको छ ।
आइतबार बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको छ । बैठकका लागि एजेन्डा नभएपछि प्रतिनिधिसभाको बैठक पनि एक सातापछि मात्रै बस्ने गरी मिति तय गरिएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार बैठक स्थगित भएको जानकारी दिएका हुन् । सूचनामा राष्ट्रिय सभाको बैठक कारणवश स्थगित भएको जनाइएको छ । भदौ २४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएको उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बैठक चलाउने कुनै एजेन्डा नभएकाले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुपरेको बताएका छन् । ‘बैठक चलाउन कुनै एजेन्डा छैन । सरकारले नयाँ विधेयक पनि ल्याएको छैन,’ उनले भने, ‘त्यसैले आइतबारको बैठक स्थगित गर्नुपरेको हो ।’ प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक आउन सक्ने आकलन गरेर राष्ट्रिय सभाको बैठक राखिएको थियो । टीआरसी विधेयक आउँदो भदौ २७ गतेभित्र टुंग्याइने टीआरसी विधेयक टुंग्याउन गठित उपसमितिका संयोजक ध्रुवबहादुर प्रधानले बताए ।
प्रतिनिधिसभाको बैठक पनि बिजनेस नभएकै कारण बुधबार मात्रै राखिएको छ । ‘संवैधानिक परिषद्को प्रतिवेदन पनि सकियो । सदनमा छलफल गर्ने विधेयक पनि छैन,’ सचिवालयका एक कर्मचारीले भने, ‘बैठक राख्नुको कुनै तुक छैन ।’ कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्मा चाँडै विधेयक आउने बताए । ‘सरकारसँग कुरा भइरहेको छ । निजमती, स्वास्थ्य र शिक्षासम्बन्धी विधेयकहरू आउँदै छ,’ उनले भने । प्रतिनिधिसभा सुरु भएको आठ महिनामा सरकारले पाँचवटा विधेयक मात्रै अघि बढाएको छ । यो अवधिमा आर्थिक विधेयकबाहेक मिटरब्याजसम्बन्धी विधेयक पारित गरेको छ । अध्यादेशको प्रतिस्थापन विधेयकका रूपमा अनुचित लेनदेनको विधेयक पारित गरेको हो ।
राष्ट्रिय सभाको एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले भने, ‘संसद् नचल्दा प्रतिपक्षलाई गाली गर्ने र विधेयकमाथिको छलफल गर्न पाइएन भनियो, अहिले सरकारले संसद्मा कुनै पनि विधेयक ल्याउनै सकेन ।’
