३ हजार जनालाई जर्मनी लैजाने भन्दै विभागको नाममा गलत सूचना प्रकाशित

भाद्र २१, २०८०

होम कार्की

काठमाडौँ — जर्मनीले तीन हजार जना सहायक कामदार लैजाने भन्दै वैदेशिक रोजगार विभागको नाममा गलत सूचना प्रकाशित भएको छ । यो सूचना प्रकाशित गर्ने गिरोहको पहिचान भने हुन सकेको छैन ।

मासिक २ हजार डलर पाउने गरी कामदारको भर्ना प्रक्रिया छनोट गर्न आवेदन माग गरेको भन्दै विभागको नाममा भदौ १९ गते सूचना प्रकाशित भएको हो‚ जसमा ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला कामदार जर्मनीका विभिन्न केन्द्रमा भर्ना गरिने बताइएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल र जर्मनीबीच कामदार लैजानका लागि सम्झौता भइनसकेको बताए । ‘जर्मनीमा कामदार लैजाने नाममा प्रकाशित सूचना शतप्रतिशत गलत हो । अहिले कामदार पठाउन जर्मनीसँग श्रम सम्झौता भइसकेको छैन,’ भण्डारीले कान्तिपुरलाई भने, ‘जनमानसमा भ्रम सिर्जना गरी ठगी गर्ने मनसाय देखिन्छ । यसको छानबिन गर्न विभागलाई निर्देशन दिइसकेको छु ।’   

वैदेशिक रोजगार विभागले जर्मनीमा कामदार पठाउने कुनै आधिकारिक सूचना नभएको भन्दै छानबिन गर्ने प्रक्रिया अगाडि बढिसकेको जनाएको छ । विभागका प्रवक्ता कविराज उप्रेतीले सामाजिक सञ्जालमा आएको भ्रामक सूचनाको भर नगर्न आग्रह गरे । ‘वैदेशिक रोजगार विभागले जारी गर्ने सूचनाजस्तै जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरेको भ्रमपूर्ण विज्ञापनप्रति विभागको गम्भीर ध्यानाकर्षण भइसकेको छ,’ उनले भने, ‘यो सूचना प्रकाशित गर्ने गिरोह वा संस्थाको पहिचान गर्न प्रहरीको सहयोग लिई छानबिन अगाडि बढिसकेको छ ।’


होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully