सहायक डिनलगायत पदाधिकारी र अधिकांश प्राध्यापक निजी इन्जिनियरिङ कलेजका लगानीकर्ता, सञ्चालक, प्राज्ञिक सल्लाहकार, निर्देशक, क्याम्पस प्रमुख र अध्यापकको जिम्मेवारीमा
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकका पदाधिकारी लगायत धेरै प्राध्यापक निजी इन्जिनियरिङ कलेजका लगानीकर्ता र सञ्चालक रहेको पाइएको छ । त्रिवि नियममा विश्वविद्यालयका प्राध्यापकले अन्य क्याम्पसमा आंशिक पठनपाठन गराउनसमेत अनुगमन निर्देशनालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । अध्यापन गराउन पूर्वस्वीकृति नलिनेलाई बर्खास्त गर्न सकिने नियम छ ।
पठनपाठनबाहेक अन्य गतिविधि गर्न त्रिविले अनुमति दिँदैन तर आईओईका सहायक डिन, विभागीय प्रमुख र वरिष्ठ प्राध्यापकहरूले स्वार्थको द्वन्द्व हुने गरी निजी कलेजमा रजगज गर्दै आएको भेटिएको हो । उनीहरूले आंशिक रूपमा काम गर्न पनि पूर्वस्वीकृति लिएका छैनन् ।
गत साउन २५ देखि आंगिक इन्जिनियरिङमा गरिएको शुल्क वृद्धिको विरोधमा विद्यार्थी आन्दोलनमा छन् । शुल्क वृद्धिलाई आईओईका पदाधिकारी र प्राध्यापकहरूको निजी कलेजको संलग्नतासँग समेत जोडेर हेरिएको छ । डिन कार्यालयले ८ सदस्यीय समिति गठन गरेकामा ४ जनाले निजी कलेज सञ्चालन गरिरहेको विद्यार्थीहरूको दाबी छ । सोही समितिको सिफारिसमा आईओईले ३ लाख १८ हजारबाट बीईको शुल्क ७ लाख ७७ हजार पुर्याएको थियो । विद्यार्थीको चर्को विरोधपछि त्रिवि कार्यकारी परिषद्को निर्देशनमा शुल्क वृद्धि रद्द भएको छ । पुनः अर्को सर्वपक्षीय समिति बनाएर शुल्क निर्धारण गरिने डिन कार्यालयले जनाएको छ ।
शुल्क वृद्धिको सिफारिस गर्नेमा निजी कलेजका सञ्चालक र प्राध्यापकहरूको बाहुल्य रहेको विद्यार्थी नेता बबिन बस्नेतले जनाए । ‘अधिकांश प्राध्यापक निजीमा पढाउँछन्, आईओईलाई धराशायी बनाएर खुलेआम निजीको पक्षपोषण गर्दै हिँड्छन्,’ उनले भने, ‘मुनाफा कमाउन उनीहरूले निजी कलेजमा लगानी गरेका छन् ।’ आईओईका एक सहायक डिनले सबैजसो पदाधिकारी र ५० प्रतिशतभन्दा बढी अध्यापकले निजी कलेजको सेयर लिएको र त्यहीं पठनपाठन गराइरहेको जानकारी दिए ।
अध्ययन संस्थानमा चार सहायक डिन छन् । तीमध्ये तीन जना निजी कलेजमा प्रत्यक्ष संलग्न छन् । सहायक डिन सुरज लामिछाने हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको सल्लाहकार हुन् । उक्त कलेजले विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको छ । त्रिविको सहायक डिन भएर अर्को विश्वविद्यालयको निजी कलेजको प्राज्ञिक सल्लाहकार बन्नु बदमासीपूर्ण रहेको बस्नेतले बताए ।
आईओई शैक्षिक प्रशासनका सहायक डिन विनोदकुमार भट्टराई कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको व्यवस्थापन समूह सदस्य हुन् । उक्त कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको निजी इन्जिनियरिङ कलेज हो । आईओई प्रशासनका सहायक डिन चिन्तामणि पोखरेल छन् । उनी हिमालयन कलेज अफ इन्जिनियरिङको प्रिन्सिपलबाट राजीनामा दिएर सहायक डिन नियुक्त भएका थिए । स्रोतका अनुसार उनी आईओईबाट सम्बन्धन प्राप्त कलेजका सञ्चालक छन् । नियमन गर्नुपर्ने कलेजमा उनी आफैं सञ्चालक रहेको आईओईका एक प्राध्यापकले जनाए ।
लामिछाने एमाले, भट्टराई कांग्रेस र पोखरेल माओवादी कोटाबाट सहायक डिन भएका हुन् । लामिछाने आईओईको पदाधिकारीमा नियुक्त भए पनि एमालेनिकट इन्जिनियरिङ संगठन र प्राध्यापक संगठनको नेतृत्वमा समेत क्रियाशील छन् । निजी कलेजमा लगानी रहे पनि कतै पनि दोहोरो जिम्मेवारीमा नरहेको उनले दाबी गरे । ‘सेयर छ, बेच्ने तयारीमा छु, पहिले पढाउँथे, अहिले एक पिरियड पनि पढाएको छैन,’ उनले भने, ‘एउटा कलेजले प्राज्ञिक सल्लाहकार भनेर राखिदिएछ, मलाई पनि थाहा भएन, साथीभाइले नाम राखिदिए होलान् ।’ निजी कलेजमा सेयर लिन पाइने तर दोहोरो जिम्मेवारी लिन नहुने उनले बताए ।
उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि सूचना प्रविधि तथा नवपर्वतन केन्द्रमा निर्देशक नियुक्ति गरेका प्राध्यापक सुवर्ण शाक्य पनि निजी कलेजमा आबद्ध छन् । उनी लामिछाने सल्लाहकार रहेकै हिमालयन ह्वाइट हाउस कलेजका प्राज्ञिक सल्लाहकार हुन् । स्वार्थको द्वन्द्व हुने गरी निजी इन्जिनियरिङ कलेजको सञ्चालक रहे पनि उनलाई एमाले भएकै कारण बाँस्कोटाले निर्देशक नियुक्त गरेको ती प्राध्यापकले बताए । शाक्य इन्जिनियरिङका प्राध्यापक हुन् । उनले निजी कलेजमा लगानी गर्नु र सल्लाहकार बस्नु सामान्य भएको प्रतिक्रिया गरे । ‘प्राध्यापकले निजी लगानी गर्न नहुने कहाँ लेखेको छ ?’ उनले भने, ‘सल्लाह दिने नै हामी प्राविधिक मान्छेले त हो, सल्लाहकार हुन पाइन्छ । हरेक कलेजलाई सल्लाह दिनुपर्छ ।’
भर्नाका बेला शाक्यले निजीमा भर्ना हुन विद्यार्थी काउन्सिलिङ गर्दै हिँड्ने गरेको पुल्चोकका अर्का सहप्राध्यापकले सुनाए । ‘आईओईमा विद्यार्थी नपाएर कोटा खेर जान्छ, प्राध्यापकहरू निजीमा भर्ना हुन छुट दिन्छौं भन्दै निजी कलेजको काउन्सिलिङमा हिँड्छन्,’ उनले भने ।
कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघका पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाइका सभापति विनोद पराजुली एड्भान्स कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्टका प्रमुख कार्यकारी निर्देशक छन् । लामिछाने र पराजुलीको लगानी, संलग्नता र शुल्क वृद्धिको विरोधमा आमरण अनशन बसेका पुल्चोक क्याम्पसका विद्यार्थी सुलभ चापागाईंले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । निजीभन्दा आंगिक क्याम्पसको शुल्क महँगो हुने गरी सिफारिस गरिएको उनको भनाइ छ । लामिछाने र पराजुली सदस्य रहेको सिफारिस समितिले शुल्क बढाउन सुझाव दिएको थियो ।
पराजुलीले निजी कलेजमा आफ्नो सेयर रहेको स्वीकार गरे । ‘सामान्यतया सेयर हाल्न नहुने होइन, धेरै जनाको सेयर हुन सक्छ, दोहोरो जिम्मेवारी लिनुचाहिँ हुँदैन, पढाउँदैमा प्रश्न उठाउन सकिँदैन,’ उनले भने, ‘मैले दोहोरो सुविधा लिएको छैन, परिवारको नाममा सेयर छ ।’ विद्यार्थीलाई उचालेर यी कुरा बाहिर आएको उनले बताए । ‘निजीमा लगानी गर्दैमा स्वार्थको द्वन्द्व भयो भन्नु मनोरोग हो,’ उनले भने ।
त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा अन्य शिक्षण संस्थामा प्राध्यापन गराउन प्राध्यापकले पूर्वस्वीकृति लिनुपर्ने तर स्वार्थको द्वन्द्व हुने गरी जिम्मेवारी लिन नमिल्ने बताउँछन् । ‘राजनीतिक पदमा नियुक्ति हुँदा राजीनामा दिएर जानुपर्छ, बाहिर क्याम्पसमा पढाउन पनि स्वीकृति लिनुपर्छ, निजी कलेजको सञ्चालक त बस्न मिल्दैमिल्दैन,’ उनले भने, ‘तलब, पेन्सन, सेवासुविधा सरकारीबाट खाने, जवानी उता (निजीमा) बेच्नेचाहिँ गर्न मिल्दैन, यसमा विश्वविद्यालयले अनुगमन गरेर कारबाही गर्नुपर्छ ।’
निजी कलेजको सल्लाहकार, सञ्चालक, निर्देशक, व्यवस्थापक बस्नु, लगानी गर्नु स्वार्थको द्वन्द्वको ज्वलन्त उदाहरण भएको उनले टिप्पणी गरे । ‘आईओई भनेको सम्बन्धन दिने निकाय पनि हो, उसले त नियमन गर्ने पो हो, पदाधिकारी आफैं जिम्मेवारीमा बस्न मिल्दैन,’ माथेमाले भने, ‘माउ संस्था चाउरी पर्नुको कारण यही हो । सरकारी संस्था धराशायी र निजी फस्टाउँदै जानु राम्रो होइन ।’ त्रिविमा कार्यरत अध्यापकलाई अन्यत्र पढाउनबाहेक उस्तै प्रकृतिको संस्था सञ्चालन गर्न स्वीकृतसमेत दिन नहुने उनले जनाए ।
त्रिवि नियममा शिक्षक, कर्मचारीले अन्य स्थानमा काम गर्न नहुने उल्लेख छ । ‘शिक्षक वा कर्मचारीले त्रिभुवन विश्वविद्यालयसम्बन्धी कामबाहेक कुनै प्रकारको अन्य रोजगारी कार्यकारी परिषद्बाट तोकिएको पदाधिकारी वा समितिको पूर्वस्वीकृतिबेगर गर्नु हुँदैन । त्रिवि र अन्य विश्वविद्यालयमा एकैसाथ पूरा वा आंशिक समयमा समेत कुनै नियुक्ति लिई वा नलिई काम गर्नु हुँदैन,’ नियममा भनिएको छ । अन्य निकायमा बिनापूर्वस्वीकृति काम गरेमा पदबाट हटाउन सक्ने व्यवस्था छ ।
इन्जिनियरिङका विद्यार्थी सरोज अधिकारीले आईओईका अधिकांश प्राध्यापक निजी कलेजका लगानीकर्ता रहेको दाबी गरे । ‘त्रिविको मानसम्मान बेचेर निजी कलेजको सञ्चालक, बोर्ड अफ डाइरेक्टर, म्यानेजमेन्ट कमिटी अप्रेसन टिममा छन्,’ उनले भने, ‘आईओईमा एक/दुई पिरियड पढाएर परीक्षा आउने बेला हतारहतारमा कोर्स पूरा गर्छन् । सबै समय निजी कलेजमा खर्च गर्छन् ।’ दिनभर निजी कलेजमा पढाएर प्राध्यापकले पुल्चोकका विद्यार्थीलाई साँझबिहान मात्र कक्षामा डाक्ने गरेको अर्का छात्रले सुनाए ।
पुल्चोक क्याम्पसका प्राध्यापक सन्तोषकुमार श्रेष्ठ पनि कसमस कलेजका प्राज्ञिक निर्देशक छन् । निजी क्याम्पसमा कार्यकक्ष नै खडा गरी कामकाज गर्दै आएका उनी पुल्चोकमा भन्दा अधिकांश समय कसमस कलेजमा भेटिने विद्यार्थी बताउँछन् । प्रजातान्त्रिक प्राध्यापक संघ पुल्चोक क्याम्पस इकाइका उपाध्यक्ष पवनकुमार भट्टराई कसमस कलेजका क्याम्पस प्रमुख छन् । पुल्चोक क्याम्पसका वाटर रिसोर्स इन्जिनियरिङका प्राध्यापक भट्टराई स्वीकृतिबिनै निजी कलेजको प्रिन्सिपल बनेको स्रोतले जनायो ।
कसमस र हिमालयन ह्वाइट हाउस क्याम्पस आईओईकै प्राध्यापकको लगानीमा सञ्चालन गरिएको र अधिकांश आईओईकै प्राध्यापकहरूले अध्यापन गराउने गरेको एक प्राध्यापकले जनाए । सहायक डिनहरू नै निजीको सञ्चालक बनेपछि अध्यापकमाथि पनि रोकतोक हुन नसकेको हो । आंशिक प्राध्यापनबाहेक दोहोरो जिम्मेवारी हुने गरी लगानी गर्न, कुनै पदमा बस्न त्रिवि अनुगमन निर्देशनालयले अनुमति नदिने एक कर्मचारीले बताए ।
हिमालयन ह्वाइट हाउस कलेजमा पुल्चोककै प्राध्यापक सूर्य ज्ञवाली प्राज्ञिक सल्लाहकार छन् । उनी कसमस कलेजका कृषि इन्जिनियरिङतर्फको डाइरेक्टरसमेत हुन् । पुल्चोक क्याम्पसकै अध्यापक बिन्दु श्रेष्ठ कसमसकै सहायक क्याम्पस प्रमुख छिन् । उनीहरू सबैले निजी कलेजको वेबसाइटमै पद र तस्बिर राखेर कामकाज गर्दै आएका थिए ।
विद्यार्थी आन्दोलनका क्रममा निजी कलेजमा लगानी र संलग्नता रहेको बारे विद्यार्थीले खोजबिन गर्न थालेपछि अधिकांशको तस्बिर र जिम्मेवारी हटाइएको छ । डिन शशिधरराम जोशी नै निजी कलेजमा प्राध्यापन गर्दै आएकाले मातहतका प्राध्यापकलाई निजी कलेजमा आबद्ध हुँदा पनि कारबाही गर्न नसकेको एक प्राध्यापकले कान्तिपुरसित बताए । उनी पोखरा विश्वविद्यालयको नेपाल कलेज अफ टेक्नोलोजीको फ्याकल्टी हुँदै डिन नियुक्त भएका थिए । आईओईका प्राध्यापक बाबुराम दवाडी कसमस कलेजको सहायक क्याम्पस चिफ हुन् । उनी पनि शुल्क वृद्धि गर्न गठित समितिका सदस्य थिए ।
त्रिवि सम्बन्धनसम्बन्धी नियमावली, २०७३ मा एकै प्रकृति र विषयका क्याम्पस वा कलेजको दूरी कम्तीमा तीन किलोमिटर हुनुपर्ने उल्लेख छ । तर आईओई आसपासमै सम्बन्धनका थुप्रै कलेज सञ्चालित छन् । आईओईले १० वटा निजी कलेजलाई सम्बन्धन दिएकामा ती सबै कलेज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा मात्रै सञ्चालित छन् ।
पोखरा, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेज पनि आईओईका प्राध्यापकलाई पायक पर्ने गरी स्थापना गरिएको छ । तिनमा पनि आईओईका अध्यापकको संलग्नता भेटिन्छ । ‘आईओईकै प्राध्यापकले पठनपाठन गराउने गरी आईओई पुल्चोक वरिपरि नै निजी कलेज स्थापना गरिएको छ,’ एक विद्यार्थीले भने ।
त्रिवि अनुगमन निर्देशनालयका निर्देशक विष्णु खनालले कानुनीभन्दा पनि नैतिक रूपमा प्राध्यापकहरूले निजी कलेजको जिम्मेवारी र लगानीकर्ताका रूपमा बस्न नहुने बताए । ‘हामीले आंशिक रूपमा पढाउन मात्रै स्वीकृति दिने हो, पूर्णकालीन काम गर्न, सञ्चालक समिति, सल्लाहकार, निर्देशक, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख बन्न स्वीकृति दिन मिल्दैन, दिँदैनौं,’ उनले भने ।
चिकित्सा विधाका बाहेक अन्य प्राध्यापकलाई अन्यत्र काम गर्न स्वीकृति दिन कडाइ गरिएको उनले बताए । ‘साउनदेखि नयाँ आर्थिक वर्षको स्वीकृति लिने काम सुरु हुन थालेको छ, थोरै संख्यामा मात्रै पूर्वस्वीकृति लिनुहुन्छ,’ उनले भने, ‘उजुरी आएपछि कारबाही गर्दै आएका छौं ।’ लगानीको विषयमा कानुन नभएकाले निर्देशनालयले नियमन गर्न नसक्ने उनको भनाइ छ ।
