सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले

भाद्र १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन् ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए ।

चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए । 

सचेतक बर्तौलाले एमाले आफ्नो एक इन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्‍याए । उनले नेपालको भूगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि बताएका थिए । 

कान्तिपुर

Link copied successfully