काठमाडौँ — महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली आइतबार चीन भ्रमणमा जाने भएको छ । पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीले भदौ १७ देखि २९ गतेसम्म चीनको भ्रमण गर्न लागेको हो ।
टोलीले ग्वान्झाओ, बेइजिङ र चिन हाईको भ्रमण गर्नेछ । भदौ १७ गते चोङचिङ जाने टोली भदौ २१ गते चीनको राजधानी बेइजिङ पुग्नेछ ।बेइजिङमा सीपीसीका उच्च अधिकारीहरूसँग महासचिव पोखरेल नेतृत्वको टोलीले वार्ता गर्ने कार्यक्रम रहेको छ ।
विदेश विभागका प्रमख राजन भट्टराईले सीपीसी निमन्त्रणामा भ्रमण हुन लागेको बताए । 'सीपीसीको निमन्त्रणामा भ्रमण हुन लागेको हो । भ्रमणको विषयमा थप जानकारी केही दिनमा सार्वजनिक गर्नेछौं‚' भट्टराईले भने ।
२१ सदस्यीय भ्रमण टोलीमा पार्टी तथा भ्रातृ संगठनका नेताहरू रहेका छन् । पोखरेलसँगै टोलीमा विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, विदेश विभागमा चीन डेस्कका प्रमुख गोपाल खनाल, केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ, कल्पना थापा, मानवीर राई, नीरज आचार्य, रचना खड्का रहेका छन् ।
त्यसैगरी टोलीमा केन्द्रीय सदस्यहरू अजय गुप्ता, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी, राम राना, राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमाल, प्रेस चौतारी उपाध्यक्ष राजेश राई, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्मा र महासचिवका स्वकीय सचिव सरोज रेग्मी रहेका छन् ।
प्रधानमन्त्री पुष्पपकमल दाहालको चीन भ्रमणअघि प्रमुख प्रतिपक्षी दलका नेताहरूको भ्रमण हुन लागेको हो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर न्युयोर्कबाट सिधै असोज ५ गते बेइजिङ जाने कार्यक्रम रहेको छ ।
