दुई म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले गर्‍यो निलम्बन

भाद्र १२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनी ओमेगा इन्टरनेसन र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ । विभागले  मंगलबार सूचना जारी गर्दै दुवै कम्पनीलाई कारबाहीस्वरुप निलम्वन गरेको जनाएको हो ।

विभागबाट अनुमति नलिई दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा  वैदेशिक रोजगारीमा पठाउने कार्यमा संलग्न रहेको भन्दै विभागले ओमेगालाई निलम्वन गरेको हो । त्यस्तै आफ्नो भवनमा अन्य दुई स‌ंस्था कार्यालय राखेर दक्ष जनशक्तिलाई वर्किङ भिसाको भ्रमपूर्ण सन्देश प्रवाह गरेकोमा अक्सनलाई कारबाही गरिएको विभागले जनाएको छ । 

'विभागको पूर्वस्वीकृतिविना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवम् सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेसनल प्रालि र आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेसन इन्स्टिच्युट तथा कन्सलटेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न अक्सन इन्टरनेसनल प्रालि (अवतार ह्युमन रिसोर्स प्राली)लाई विभागको मिति २०८०। ०५। १२ को निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम उल्लिखित दुवै संस्थालाई निलम्बन गरिएको छ,' विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुर

Link copied successfully