साउदीबाट फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र

ऋणपान गरेर विदेशिएकाहरू बेखर्ची भएर फर्केपछि पैसा फिर्ता माग्दै म्यानपावर कम्पनी धाउन थालेका छन्
विद्या राई

काठमाडौँ — साउदी गएको पाँच महिनामै नेपाल फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र परेका छन् । उनीहरू सुनसरी, रौतहट, बारा, धनुषा, रूपन्देही, कपिलवस्तुलगायत जिल्लाका हुन् । दुई दिनअघि नेपाल आइपुगेका उनीहरूलाई अनामनगरको नूर अपर्च्युनिटी ओभरसिजले साउदी पठाएको थियो ।

साउदीबाट फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र

नेपाल फर्केका कामदार साउदीस्थित कम्पनी सपोर्ट एन्ड सप्लाई वर्क्ससप फर अटो मेन्टिनेन्सअन्तर्गत दम्माम, उम्लुज र हेयलमा काम गर्ने गरी एकैदिन काठमाडौंबाट उडेका थिए । त्यहाँ मासिक तलब साउदी रियाल एक हजार र खानाका लागि मासिक थप तीन सय साउदी रियाल पाउने भनी स्पोन्सर टर्की अल्माराहीसँग सम्झौता भएको थियो । कम्पनीले नै खाने, बस्ने, काममा जान–आउन यातायातको सुविधा दिने, साउदीको कानुनअनुसार अतिरिक्त समय र बिदा दिने सम्झौतापत्रमा उल्लेख छ ।

दैनिक आठ घण्टाका दरले साताको ६ दिन काम गर्ने गरी २ वर्षको करार अवधिमा गएका उनीहरूले साउदी पुगेपछि सम्झौताअनुसार काम पाएनन् । दिनको १० घण्टा काम गरेर साउदी रियाल मासिक चार सयमात्रै दिने भनियो । खानेबस्ने सुविधासमेत थिएन । साउदी गइसकेको भएर उनीहरू त्यति नै तलबमा काम गर्न थाले तर तलब पनि नियमित पाएनन् । कम्पनीले कहिले ५० रियाल, १०० रियाल, २०० रियाल दिन्थ्यो । प्लास्टिकमा खाना खान्थे । भुइँमै सुत्थे । सबै प्रक्रिया पुर्‍याएर गए पनि सम्झौताअनुसार काम र सेवासुविधा नपाएपछि उनीहरूले साउदीको अदालतमा मुद्दा हाले । अदालतले टिकट काटेर फिर्ता पठाइदिनु भन्ने फैसला गरेपछि कम्पनीले पाँच महिनामै फर्काइदिएको अर्का पीडित कामदार गजेन्द्र शर्माले बताए ।

ऋणपान गरेर विदेशिएका उनीहरू बेखर्ची भएर फर्केपछि पैसा फिर्ता पाउनुपर्ने भन्दै म्यानपावर कम्पनी धाउन थालेका छन् । कम्पनीले ढाँटेर पठाएको कारण दुःख पाएको सर्लाहीका मतलुब शेखले बताए । ३१ वर्षीय शेखले साहुबाट दुई लाख ३० हजार ऋण गरेर विदेश गएका थिए । उनले ऋण लिएकोबाट १ लाख २५ हजार रुपैयाँ नूर अपर्च्युनिटी ओभरसिजलाई बुझाएको र बाँकी पैसा विदेश जाने प्रक्रिया गर्न काठमाडौं आउजाउ गर्दा खर्च भएको बताए । म्यानपावरले माग सुनुवाइ नगरेको भन्दै शेखले भने, ‘हामी केही जान्दैनौं, तिमीहरू फर्केर आयौ, जे मन छ त्यही गर भन्छ ।’

उनी पाँच वर्षअघि कतारबाट फर्केका थिए । त्यसपछि भारतमा गएर मजदुरी गरे । सात महिनाअघि घर आएका बेला चिनजानका साथीभाइले साउदीमा खानेबस्ने सुविधासहित राम्रो कमाइ हुने सुनाए । उनले साउदी गएर कमाउने, परिवारलाई सुखसयलले पाल्ने सोच बनाए र चर्को ब्याजमा ऋण काढेर साउदी गए । उनका श्रीमती, दुई छोरा र दुई दाजुभाइ छन् । ‘अलपत्र भएर नेपाल फर्कनुपर्‍यो, म्यानपावरले अलपत्र पार्‍यो, परिवार भोकभोकै छ, अब ऋण कसरी तिर्ने, के गर्ने साह्रै समस्यामा परेका छौं,’ उनले भने, ‘कम्पनी राम्रो छ, खानेबस्ने सबै दिन्छ, बिहान–बेलुका चार/चार घण्टा काम गर्ने हो भनेर म्यानपावरले पठायो,’ उनले भने, ‘ढाँटेर पठाएको रहेछ, दिउँसो ११ बजेपछि चर्को घाममा १० घण्टासम्म बेल्चा हान्न लायो ।’ नूर अपर्च्युनिटी ओभरसिजका प्रबन्ध निर्देशक तिलक रानाभाटले साउदीबाहेक अन्यत्र जानेलाई भोलिदेखि नै प्रक्रिया सुरु गर्न लागेको बताए । ‘उनीहरूले साउदीमा विभिन्न कारणले काम छाडे, हडताल गरे, श्रम अदालत गए, ५९ जना गएकामा केही अर्कै कम्पनीमा काम गरेर बसेका छन्, बाँकी फर्केका हुन्,’ रानाभाटले भने, ‘फर्किन्छौं भनेको भएर फर्काएका हौं, बेवास्ता गर्ने भन्ने होइन, अरू देश पठाउँछौं ।’ अलपत्र परेका गजेन्द्र शर्माले ढाँटेर अर्को कम्पनीमा पठाइएका साथीहरूले अहिलेसम्म तलब नपाएको बताए ।

प्रकाशित : भाद्र ७, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×