देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी

भाद्र १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री भण्डारीले  नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर हुने बताएका हुन्। 

मन्त्री भण्डारीले सरकारले अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पुर्‍याउन लागेको बताए । उनले वैदेशिक रोजगारबाट नै मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने अवस्था अहिले पनि कायम रहेको बताए ।

‘मन्त्रालय अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पुर्‍याउँदै छौँ । तपाईहरुको सुझाव सकारात्मक रूपमा लिएको छु । तपाईंहरूको कुरा साझा समस्या छन्, त्यसको समाधान हामीले गर्दै जानुपर्छ । हाम्रो अर्थतन्त्र वैदेशिक रोजगारमा नै भर पर्नुपर्ने अवस्था छ । हामी चर्को कुरा गर्छौं तर सत्य वैदेशिक रोजगार बिना हामी अघि बढ्न सकिरहेका छैनौँ । जतिसुकै चर्को नारा लगाए पनि वैदेशिक रोजगारमा नै हामीले हाम्रो अर्थतन्त्र अघि बढाउनुपर्ने छ,’ मन्त्री भण्डारीले भने । 

वैदेशिक रोजगार ऐन परिमार्जनका लागि नागरिक समाज अभियानको तर्फबाट मौजुदा वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जनका लागि नागरिक स्तरमा संकलन गरिएको ६ हजार १५९ नागरिकहरूको हस्ताक्षर र ज्ञापनपत्र मन्त्री भण्डारीलाई बुझाएको हो । नागरिक समाज अभियानले तयार पारेको वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागि १८ वटा शीर्षकहरूको २८ पेजको प्रस्तावसमेत मन्त्रीलाई बुझाइएको छ ।

उनीहरूले आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानुनी व्यवस्था गर्न, वैदेशिक रोजगारमा कामदार पठाउँदा शून्य लागत, भर्ना खर्च रोजगारदाताले व्यहोर्नेको नीति लागू गर्न, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोक्न, व्यवसायीको अनुगमन प्रभावकारी बनाउन, वैदेशिक रोजगारमा महिलामाथिको भेदभाव हटाउँदै खाडी मुलुकहरूमा रेलु महिला कामदार उपरको प्रतिवन्ध हटाउन लगायतका १० वटा माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।   

कान्तिपुर

Link copied successfully