१ करोड ८५ लाख ठगीको आरोप
काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितहरुको जाहेरी परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी आफूहरू ठगिएको भन्दै उनीहरूले उजुरी दिएका हुन् ।
लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायत जिल्लाका १८ जना पीडितहरूबाट करिब १ करोड ८५ लाख ९२ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी परेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
कार्यालयले सक्कल जाहेरी‚ दरखास्तलगायत कागजातहरूको आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।
