सुन तस्करीमा महरा कनेक्सन : अभियोजनपत्रमा किटानी नाम, तर अभियुक्त बनाइएन

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोजनपत्रमा ‘लिंक चार्ट’ बनाएर महरा बाबुछोरा तस्करीमा संलग्न भएको किटानी गरिएको छ, तर उनीहरूलाई अभियुक्त बनाइएको छैन

श्रावण २९, २०८०

मातृका दाहाल

काठमाडौँ — विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालयले किटानी गरेका छन् । तर न सरकारले मुद्दा चलाएको छ, न सरकारको नेतृत्व गरिरहेको माओवादीले कारबाही गरेको छ ।

सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलले २ सय ३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । त्यतिमात्र होइन, महरा बाबुछोरा यो प्रकरणमा संलग्न रहेको भनेर पनि प्रतिवेदनमा स्पष्ट उल्लेख छ । तर, प्रहरीले न उनीहरूमाथि अनुसन्धान गरेको छ, न पार्टीले नै केही कारबाही गरेको छ । 

०७९ पुस १० मा दुबईबाट ल्याइएको भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि छुटाउन महराका बाबुछोरा नै लागिपरेका थिए । तर, भित्र सुन भएको सुराक पाएपछि सुन लुकाएर अर्कै भेप लिलाम गर्ने योजना बनाइएको थियो । यहीबीच भन्सारकै अधिकारीहरूको योजनामा गोदामबाट सुनवाला भेप चोरी भएको खुलासा भएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । त्यतिन्जेलसम्म चिनियाँ तस्कर भागिसकेका थिए ।

यो प्रकरणमा प्रहरी र सरकारी वकिल कार्यालयले नै अस्वाभाविक नीति लिएका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सुन तस्करीको विवरण कागज, अनुसन्धानका क्रममा खुल्न आएको ९ केजी ११.५२४ ग्राम सुनको बजार मूल्य ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रहेको भन्ने काठमाडौं सुनचाँदी व्यवसायी संघको पत्र र कल डिटेल रेकर्ड संलग्न छ । 

प्रहरीले महरा बाबुछोराले गिरोहका विभिन्न व्यक्तिसँग २ सय ५६ पटक संवाद गरेको भन्दै प्रहरीले ‘लिंक चार्ट’ नै बनाएको छ । त्यतिमात्र होइन, कृष्णबहादुर महरा र राहुल महरा पनि तस्कर समूहमा संलग्न भएका किटान नै प्रतिवेदनमा गरिएको छ । यही विवरण अदालतमा पेस गरिएको अभियोजनपत्रमा पनि उल्लेख छ । 

‘सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई, दाओजिन वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरासमेतको सम्पर्क कृष्णबहादुर महरा र मुक्तिप्रसाद श्रेष्ठसँग रहेको,’ अभियोजनपत्रमा भनिएको छ, ‘निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहमा रहेका प्रतिवादीहरूसँग देखिन आएकोमा निजहरू फरक–फरक समूहमा रही आफ्नो आपराधिक जिम्मेवारीबमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेको २ सुटकेसभित्र रहेका ७ सय ३० थान भेप बेची संगठित रूपमा आपराधिक विश्वासघात गरेको झनै पुष्टि हुन्छ ।’ 

आश्चर्य के छ भने प्रहरी प्रतिवेदनमा र जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोजनपत्रमा ‘लिंक चार्ट’ बनाएर महरा बाबुछोरा तस्करीमा संलग्न भएको किटानी गरिएको छ, तर, उनीहरूलाई अभियुक्त बनाइएको छैन । अपराध अनुसन्धान र मुद्दा अभियोजनमै यो आफैंमा अनौठो घटना भएको छ । प्रहरी प्रतिवेदन र सरकारी वकिलको गैरजिम्मेवार कदमका कारण सत्तारूढ दलका नेता महराबाहेकका नौ जनालाई मात्र अभियुक्त बनाइएका छन् । 

तस्करीमा संलग्न चिनियाँ फरार रहेको मूल अभियुक्त कारबाहीको दायरामा आउँदा त्यससँग जोडिएका अरूलाई पनि अनुसन्धानको दायरामा ल्याइने दाबी प्रहरीको छ । तर, प्रहरी अनुसन्धान सुरु नहुँदै भागेका चिनियाँ नागरिक कहिले पकडमा आउने र अरू सम्बद्धहरू पक्राउ पर्ने हुन् ? यो प्रश्न आफैंमा उदेकलाग्दो बनेको छ । 

माओवादी बैठकले पनि गरेन निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार माओवादी पदाधिकारी बैठक बसेको थियो । सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने एजेन्डामा बसेको बैठकमा सुन तस्करीमा महरा मुछिएको विषयले पनि प्रवेश पाएको थियो । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीआईबीबाट अनुसन्धान जारी रहेको बताउँदै तस्करीमा जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा आउनुपर्ने भनाइ राखेका थिए ।

‘सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यसमा उपाध्यक्ष महरा कमरेडको पनि नाम आएको छ । यस विषयमा उहाँ आफैंले पनि प्रस्ट पार्नुपर्छ,’ बैठकमा मन्त्री श्रेष्ठको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा काम गरिरहेको छ । यसमा जोसुकै परून्, तथ्य र प्रमाणले ज–जसलाई देखाउँछ, सबै अनुसन्धानको दायरामा आउनैपर्छ ।’

अन्य पदाधिकारीले पनि व्यक्तिको बोझ पार्टीले बोक्न नसक्ने भन्दै जोमाथि आरोप लागेको हो, उसैले आफू निर्दोष साबित गर्नुपर्ने स्पष्ट पारेका थिए । एक पदाधिकारीअनुसार सचिव राम कार्कीको भनाइ थियो, ‘पत्रपत्रिकामा जे कुरा आइरहेका छन्, उपाध्यक्ष महरासहित ज–जसमाथि यस्तो आरोप छ, उहाँहरूले सत्यतथ्य आम जनतालाई बताउनुपर्छ । पार्टीले जिम्मेवारी लिने कुरा हुँदैन ।’

पदाधिकारीहरूको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले महरा जोडिएको विषयलाई जनताले हेरिरहेको भन्दै कोही निर्दोष भए आफैं प्रमाणित गर्नुपर्ने बताएका थिए । ‘क्विन्टल सुन प्रकरणमा नाम जोडिएपछि उपमहासचिव वर्षमान पुन आफैंले स्पष्ट पारेर राम्रो गर्नुभयो, अरूले पनि त्यही गर्नुपर्छ’ दाहालको भनाइ थियो । तर, उनले महरामाथि कानुनी वा राजनीतिक कारबाही हुने विषयमा स्पष्ट केही बताएनन् । 

पदाधिकारी बैठकमा उपमहासचिव वर्षमान पुनले महरा जोडिएको विषयमा पार्टीले स्पष्टीकरण सोध्नुपर्ने वा सम्बन्धित व्यक्तिले नै प्रस्ट पार्नुपर्ने त्यसो नभए सीआईबीलाई अनुसन्धानमा सघाउनुपर्ने बताएका थिए । ‘महरा कमरेडको संलग्नताको विषय उठेको छ । छोरा पनि जोडिनुभएको छ । यस विषयमा कि पार्टीले स्पष्टीकरण सोध्नुपर्‍यो नभए आफैंले जनमानसले पत्याउने गरी चित्तबुझ्दो जवाफ दिनुपर्‍यो । होइन भने सीआईबीबाटै यसको निराकरण होस्,’ बैठकमा उनले भनेका थिए, ‘स्पष्टीकरण पनि नदिने, अनुसन्धान पनि टुंगोमा नपुग्ने, सधैं राज्यशक्तिको त्रासमा राखिराख्ने हुँदैन । सरकार र पार्टीले स्पष्ट गर्नुपर्‍यो ।’

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully