दराई समुदायको संग्रहालय सपना

संग्रहालय बनाउन वाग्मती प्रदेश सरकारले २७ लाख रुपैयाँ दिएपछि काम सुरु भएको छ

श्रावण २६, २०८०

रमेशकुमार पौडेल

चितवन — विश्व आदिवासी दिवसको दिन पारेर बुधबार विभिन्न ठाउँमा औपचारिक कार्यक्रम भए । तर मन हुँदाहुँदै पनि रेशम दराई त्यस्ता कार्यक्रममा सहभागी हुन पाएनन् । उनी आफ्नै गाउँ भरतपुर महानगरपालिका–२३ जगतपुरको खड्गौलीमा अडिए । दराई जाति चितवनको मैदानी क्षेत्रका आदिवासी हुन् । खड्गौलीमा दराई समुदायको बाक्लो बसोबास छ । यो गाउँ दराई जातिको पुरानो बस्ती हो ।

रेशम नेपाल दराई उत्थान समाज चितवन जिल्ला कार्यसमितिका अध्यक्ष हुन् । खड्गौलीमा दराई समुदायको सांस्कृतिक संग्रहालय निर्माण थालेको धेरै भयो तर काम फत्ते गर्न सकेका छैनन् । सोही संग्रहालय निर्माण सम्पन्न गर्नेबारे दराई अगुवाहरूसँग छलफल राखेका कारण उनी खड्गौलीमै बसे । ‘विश्व आदिवासी दिवसको कार्यक्रम महत्त्वपूर्ण हो । तर यता संग्रहालय चाँडै सकौं भन्नेछ,’ रेशमले भने ।

संग्रहालय बनाउन खड्गौलीका बाबुराम दराईले १३ धुर जग्गा संस्थालाई निःशुल्क दिएका छन् । २०७८ फागुनमा संग्रहालय निर्माण थालेका हुन् । ‘यसमा दराई समुदायका जन्मदेखि मृत्युपर्यन्तसम्मका संस्कारमा प्रयोग हुने सामग्री, अन्य औजार र पोसाकहरू राख्नेछौं,’ रेशमले सुनाए । संग्रहालय बनाउन ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । त्यस निम्ति वाग्मती प्रदेश सरकारले २७ लाख रुपैयाँ दिएपछि काम सुरु गरेका हुन् ।


भुइँ तलामा संग्रहालय र त्यसमाथिको तलामा कार्यक्रम हल र कार्यालय राख्ने गरेर भवन तयार हुँदै छ । तर पहिलो तला जेनतेन ढलानपछि अरू काम अघि बढेको छैन । ‘प्रदेश सरकारले दिएको बजेटले पहिलो तला ढलान भयो र वडा कार्यालयले उपलब्ध गराएको अढाई लाख रुपैयाँले प्लास्टर गर्‍यौं,’ रेशमले भने, ‘अब अरू बजेट कहाँ खोज्ने ? छलफलमै छौं ।’

वडा कार्यालयले यो पटक थप तीन लाख रुपैयाँ बजेट दिने भएकाले उनीहरू उत्साहित छन् । ‘त्यही बजेट कसरी लिने र खर्च गर्ने भन्नेबारे आज छलफल भयो,’ अध्यक्ष रेशमले भने, ‘भदौ २ मा अलि बृहत् रूपमा फेरि जुट्नेछौं ।’ खड्गौली गाउँ कुनै बेला दराई जातिको मौजा थियो । खड्गालीदेखि तीन–चार किलोमिटर पश्चिम ध्रुवाघाटसम्म दराई अधीनस्थ थियो ।


‘राप्ती खोला नजिकको यो गाउँ अलि खाल्टो परेको जमिनमा छ । खड्गौली हाम्रो दराई भाषाकै शब्द हो । यसको अर्थ खाल्टो परेको जमिन भन्ने बुझाउँछ,’ स्थानीय मंगरा दराईले भने । ५३ वर्षका मंगराका अनुसार उनी मात्रै हैन उनका बाबु रणबहादुर र हजुरबुबा आइतराम पनि यहीं जन्मेका हुन् । हजुरबुबाभन्दा अगाडिको पुस्ताका बारेमा उनले खासै सोधखोज गरेनन् । यहाँको पुरानो बासिन्दा भएको उनले बताए । 

पुरानो बासिन्दा, कुनै बेला प्रशस्त खेतीभूमि भए पनि अहिले आर्थिक रूपमा दराई समुदाय पछाडि पारिँदै गएको रेशमले सुनाए । ‘पहिला त जग्गा जमिन कति हो कति । रुखो ठाउँमा हुने मकै, कोदो, तोरी, घैया धान लगाउने चलन थियो रे । ०१३ सालपछि चितवनमा बस्ती विस्तार भयो । नयाँ–नयाँ ठाउँका मान्छेहरू ओइरिए । सिँचाइ गर्ने, राम्रो धान लगाउने भन्दै कुलो ल्याए,’ रेशमले सुनाए । 


कुलो ल्याउँदा सिँचाइ मात्रै भएन दराईको जमिन पनि गुम्न सुरु भयो भन्छन् रेशम । ‘०१७/१८ साल तिरको कुरा हो, कुलो त आयो तर पानी सित्तैमा खेतमा लगाउन नपाइने भयो । पानी पोत भनेर बिघाको १० रुपैयाँ लिने रहेछन् । त्यो बेला १० रुपैयाँ पनि ठूलो रकम हुन्थ्यो । पैसा जुटाउन जमिन बेच्नुपर्ने बाध्यता आएछ,’ उनले भने ।


धनु दराई भरतपुर–२३ खड्गौली दराई टोल विकास संस्थाकी अध्यक्ष हुन् । उनको संस्थामा ९६ घरधुरी छन् । १०/१२ घरबाहेक अरू सबै दराई समुदायका छन् । खड्गौलीमा दराईका करिब १ सय २० घर छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–११ कठार पिद्रहनीमा दुई सय घर दराई समुदाय छन् । 

‘तर यहाँ एक बिघाभन्दा बढी खेत भएका दराई तीन–चार मात्र घर होलान् । अरू सबैको जमिन कट्ठामा सीमित छ । जब कि ०१३ सालअघि दराईकै मौजा थियो,’ रेशमले भने । दराईले कसरी जग्गा गुमाए भनेर अहिले सोधीखोजी गर्नुभन्दा भएका संस्कार, संस्कृति र मौलिक सामग्रीहरू बचाएर राख्ने अभियानमा लागेको उनले बताए । तर यसका लागि पनि सहयोग गर्ने निकायहरू खासै नदेख्दा दुःख लागेको उनले बताए ।


‘आफ्ना मौलिक चाडपर्व, संस्कार, संस्कृति भुलेर दराईहरूले अरूको सिको गरेका छन् । हामीले मनाउने पर्व र संस्कारमा हाम्रै समुदायमा पनि यही चितवनभित्र एक रूपता हुन छाड्यो । भाषा छ तर बोलिन छाड्यो । हामीले जानेका गरेका धेरै कामहरू अहिले बन्द भए,’ मंगराले भने । 

दराईको मुख्य पर्व सोहराई हो । यो पर्व तिहारका बेलामा पर्दछ । सोहराईमा दिवंगत पुर्खाको स्मरण गरिन्छ । ‘यो बेला एक खाले विशेष जाँड पितृलाई चढाउने चलन छ । अनदीको चामलको जाँड बनाएर माटोको भाँडोमा राखिन्छ । त्यसको मुखमा परालको बुझो लगाएर माटोले नै लिपेर मजाले टालिन्छ । एक वर्ष यसरी राखेको जाँड नै पितृलाई चढाइन्छ,’ मंगराले भने । तर यसरी जाँड बनाउन छाडेकै १०/१५ वर्ष भयो ।


बूढापाकाहरू दिवंगत हुँदै जाँदा नयाँ पुस्ताले दराईको संस्कार संस्कृति, भाषा बिर्सने खतरा बढेको उनले बताए । ३८ वर्षका विनोद दराई आफ्नो समुदायमा दाइजोको चलन नरहेको बताउँछन् । जुन कुरा उनलाई गर्विलो लाग्दछ । यस्ता यस्ती विषय जोगाएर राख्न र अरूलाई पनि सुनाउनु लाभदायक हुने उनले बताए । कम्तीमा संग्रहालय बने यस्ता विषयहरू सुन्ने सुनाउने अवसर आउँथ्यो कि भन्ने उनको आशा छ ।

बिन्दु दराई भरतपुर महानगरपालिका–२३ की निर्वाचित वडा सदस्य हुन् । उनी लगातार दुई पटक वडा सदस्यमा निर्वाचित भइन् । जिल्लाको पुरानो आदिवासी समुदाय भएर पनि दराईलाई ख्याल राखेर योजना बनाउने चलन नभएको उनले गुनासो गरिन् । ‘हामी पनि योजना माग्न, बजेट पार्न आफैं अग्रसर भएर लागेका छैनौं होला । हाम्रो समुदायलाई पनि जागरुक बनाउन खाँचो छ,’ बिन्दुले भनिन् ।

दराई चितवनका आदिवासी भएको समुदायको अनुसन्धानकर्ता मंगलराम दराईले बताए । ०७८ सालको जनगणनाअनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार ६ सय ९५ छ । त्योमध्ये चितवनमा आठ हजार ८ सय ५० जना छन् । भरतपुरको जनसंख्या तीन लाख ६९ हजार २ सय ६८ रहेको छ । त्यसमा दराई समुदायको जनसंख्या तीन हजार ४ सय १३ छ । चितवनभर दराई समुदायको ६५ गाउँ रहेकोमा महानगरपालिकाभित्र मात्रै २४ गाउँ छन् । ‘भावी पुस्ताका लागि, अध्ययनकर्ताका लागि र स्वदेशी विदेशी पर्यटकका लागि संग्रहालय बनाउन खोजेको हो । तर बजेटको अभाव भयो । जे जस्तो भए पनि आउँदो पाँच वर्षभित्र बनाएरै छाड्छौं,’ जिल्ला अध्यक्ष रेशम दराईले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully