कामदारलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

वैदेशिक रोजगार विभागले डिलक्स एचआर सोलुसन र डी–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई एक/एक लाख जरिवाना पनि तोकेको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम करार बमोजिम काम नदिई अलपत्र पार्ने डिलक्स एचआर सोलुसन र डी–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गर्ने निर्णय गरेको छ ।

कामदारलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले करारपत्र बमोजिम काम नगराएर क्षतिपूर्ति पनि नदिने म्यानपावर कम्पनीको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको बताए ।

डिलक्सले बाइक राइडर र ट्याक्सी चालकमा कामदार पठाई सम्झौता अनुसार काम दिन सकेको थिएन । यूएई गएका १७ जना बाइक राइडरहरुले आफूहरुले श्रम्झौता अनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएका थिए ।

‘विभागले पीडित श्रमिकलाई उचित क्षतिपूर्ति दिन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ भएन । म्यानपावर सञ्चालकले गैरजिम्मेवारी प्रस्तुत गरेपछि डिलक्सलाई खारेज गर्नुपरेको हो,’ महानिर्देशक दाहालले भने, ‘१७ जनालाई म्यानपावरको धरौटीबाट क्षतिपूर्ति दिइनेछ ।’

त्यस्तै डी–स्क्वार्डले साइप्रसमा पठाएका दुई जना महिलाहरु पनि सम्झौता अनुसार काम नभएपछि फर्केका थिए । ‘एक जनालाई क्षतिपूर्ति दिन्छु भनेर चेक दिइएको थियो । त्यो चेक नै बाउन्स भयो । अर्को व्यक्तिको मेडिकल फेल भएको भन्दै फर्जी कागजात पेस गर्ने काम भयो,’ दाहालले भने । दुवै म्यानपावर कम्पनीले एक–एक लाख जरिवाना पनि तिर्नुपर्ने विभागको निर्णय छ ।

प्रकाशित : श्रावण २४, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×