१ हजार ८७६ जनालाई शून्य लागतमा पठायौं : आकर्षण 

श्रावण १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — आकर्षण इन्टरनेसनल प्रालिले गत आर्थिक वर्षमा १८ सय ७६ जनालाई शून्य लागतमा नेपाली श्रमिकलाई मलेसिया पठाएको दाबी गरेको छ । जसमा दुई सय २१ जना महिला श्रमिक छन् । 

‘१८७६ जनालाई कुनै पनि खर्च नलाग्ने गरी न्यायोचित नियुक्ति अवलम्बन गरी पूर्णतया शून्य लागतमा मलेसिया पठाएका छौं,’ बुधबार आकर्षण म्यानपावर कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुबहादुर केसीले भने, ‘हामीले श्रमिकहरूको सम्पूर्ण हक, अधिकार र सुरक्षाको प्रत्याभूति गराई वैदेशिक रोजगारीमा पठाएका छौं ।’ 

उनले मलेसिया गएका श्रमिकको भर्ना प्रक्रिया पारदर्शी भएको बताए । ‘श्रमिक विदेश जाँदा भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषसहित अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने–जाने गाडी भाडा, खानबस्नको व्यवस्थापन एवं राहदानीबापतको शुल्कसमेत श्रमिकलाई भुक्तानी गरेका छौं,’ केसीको दाबी छ, ‘यसको सम्पूर्ण अडिट रोजगारदाताबाट नै भएको छ ।’ 

उनले ‘रोजगारदाता पे मोडल’ मा काम गरेको बताउँदै आफूहरूले श्रमिकबाट नभई रोजगारदाताबाट नै आधा महिनाको पारिश्रमिकबापत सेवाशुल्क पाउने गरेको बताए । ‘शून्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरूको घर परिवारमा आर्थिक भार नपर्नुका साथै राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुगिरहेको छ,’ उनले भने, ‘न्यायोचित भर्ना प्रक्रियामा लागेका म्यानपावर कम्पनीलाई हौसला र दक्षता अभिवृद्धि गराउन श्रम र परराष्ट्र मन्त्रालय, विभाग र दूतावासबाट आवश्यक सहयोग पुर्‍याउन जरुरी छ ।’ 

कान्तिपुर

Link copied successfully