प्रधानमन्त्रीको फोटो 'एडिट' गरी सामाजिक सञ्जालमा राख्ने युवक पक्राउ

श्रावण १, २०८०

अमृता अनमोल

बुटवल — प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ ।

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री  पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।

ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । 

आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully